रुकुम पश्चिम — त्रिवेणी गाउँपालिका–४ की २६ वर्षीया मनकला खत्री खड्काको हत्या आरोपमा एकै घरका चार जनालाई प्रहरीले पक्राउ गरेको छ । मृतकका माइला जेठाजु, जेठानी दिदी र उनीहरूका दुई नाबालक छोरालाई प्रहरीले पक्रेको हो ।
साउन १४ गते मनलाको हत्यामा संलग्न भएको भन्दै प्रहरीले १५ र ११ वर्षका दुई नाबालकलाई पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको थियो । प्रहरीमा परेको किटानी जाहेरीको आधारमा उनीहरुका बाबु र आमालाई पनि पक्रेको प्रहरीले जनाएको छ । मृतक मनकलाकी आमाको जाहेरीका आधारमा उनीहरुलाई पक्राउ गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी प्रमुख डीएसपी ध्रुवकुमार श्रेष्ठले बताए ।
पीडितका आफन्तले मनकलाको हत्यामा दुई नाबालकको मात्रै संलग्नता नहुने भन्दै जिल्ला प्रहरी कार्यालय र त्रिवेणी गाउँ कार्यपालिकाको कार्यालय घेराउ गरेपछि प्रहरीले उनीहरुका अभिभावकलाई पनि पक्राउ गरेको हो । ‘पहिला दुई नाबालक र पछि उनीहरुका अभिभावकलाई पक्राउ गरी गम्भीर रूपमा घटनाबारे अनुसन्धान गरिरहेका छौं,’ उनले भने, ‘विभिन्न कोणबाट घटनाको अध्ययन भइरहेको छ ।’ उनका अनुसार साउन ११ गते बेलुकी मनकलाको हत्या भएको थियो । सोही राति ९ बजे उनको शव घरदेखि झन्डै एक सय मिटर परको बारीमा भेटिएको थियो ।
घरदेखि टाढाको बारीमा राखिएका भैंसीलाई घाँस हाल्न गएकी मनकला घर नफर्किएपछि उनको खोजी गर्दा शव भेटिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनको शव बीभत्स अवस्थामा भेटिएको थियो । उनको टाउकामा धारिलो हतियार प्रहार गरेका ४ वटा घाउ थिए । एउटा कान काटिएको थियो । मृतक महिलाको घाँटी, दुवै कान र नाकमा लगाइएको गरगहना हराएको प्रहरीले जनाएको छ । पछि ती गरगहनासहित दुई नाबालक पक्राउ परेका हुन् । घटनाको अनुसन्धानका लागि प्रहरीले कोहलपुरबाट तालिमप्राप्त कुकुरसमेत झिकाएको थियो ।