सिमरा । प्रेस चौतारी नेपालको स्थापना दिवसको अवसरमा जिल्ला शाखा बाराले शनिवार कलैयास्थित अनाथ आश्रममा खाद्यान्न वितरण गरेको छ । चौतारीको स्थापना दिवसको अवसर पारेर प्रेस चौतारी नेपाल बारा शाखाले कलैयास्थित अमृता अनाथ आश्रममा चामल, दाल, नुन, तेल, बिस्कुट, चाउचाउ, हर्लिक्स, माक्स, तरकारीलगायतको खाद्यान्न वितरण गरेको हो ।

प्रेस चौतारी बाराका जिल्ला अध्यक्ष दिवाकर भण्डारी र नेकपा एमाले बाराका अध्यक्ष विनोद साहले उक्त खाद्यान्न सामाग्री आश्रमकी संचालक फुलमतीदेवी बस्नेतलाई हस्तान्तरण गरेका हुन् ।

खाद्यान्न वितरणमा कार्यक्रमका प्रमुख अतिथि समेत रहेका साहले प्रेस चौतारीले स्थापना दिवस अनाथ आश्रममा मनाउनु र सामाग्री हस्तान्तरण गर्नु निकै अर्थपूर्ण रहेको बताए । पत्रकारिताको माध्यमबाट समाजलाई सूसुचित गर्दै आएका पत्रकारहरुको संगठनले सामाजिक क्रियालापमालाई सबैले अनुशरण गर्न जरुरी रहेको साहको भनाई थियो ।

कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य कमलकुमार उपाध्यायले यस्ता गतिविधिले संगठनको गरिमा उचो हुने बताए । समाचार लेख्ने मात्र नभई सामाजिक उत्तरदायित्व बहन गर्न बारा शाखाले देखाएको भूमिकाको उपाध्यायले प्रशंसा गरे ।

यसैगरी कार्यक्रममा राष्ट्रिय युवा संघ नेपाल बाराका अध्यक्ष एवम् केन्द्रीय सचिवालय सदस्य पुरुषोत्तम साहले चौतारीले प्रेस चौतारी नेपाल बारा शाखाको प्रयासलाई सबैले सम्मान गर्नुपर्ने बताए । आफ्नो संगठनको स्थापना दिवसको दिन अनाथ बालबालिकासंग मनाएर प्रेस चौतारी बाराले समाजमा उदाहरणीय काम गरेको साहको भनाई थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ बाराका शाखाका सचिव अनिल गौरवले प्रेस चौतारी नेपाल बारा शाखाले आफ्नो स्थापना दिवस अनाथ बालबालिकासंग मनाएर समाजलाई सकारात्मक सन्देश दिएको बताए ।

यसैगरी कार्यक्रममा आश्रमकी संचालिका बस्नेतले समाचार लेख्ने पत्रकारले अनाथ बालबालिकालाई सम्झेर आश्रमसम्म आएकोमा खुशी व्यक्त गरिन् । सामाजिक सहयोगनै मुख्य स्रोत रहेको आश्रमलाई ठुलो मात्रामा खाद्यान्न उपलब्ध गराउनुका साथै स्थापनाको उत्सव आश्रममा मनाएर प्रेस चौतारी नेपाल बाराले बालबालिकाको मुहारमा खुशी ल्याएकोमा बस्नेतले धन्यवाद व्यक्त गरिन् ।

अघिल्लो वर्षको स्थापना दिवस बृद्धाश्रममा मनाएको चौतारीले यसवर्ष बालबालिकासंग मनाएको हो । कार्यक्रममा चौतारी बाराका अध्यक्ष भण्डारीले सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा संगठनले स्थापना दिवस बालबालिकासंग मनाएको बताए ।

चौतारीमा संगठित सक्रिय संचारकर्मीहरुको सहयोगबाट खाद्यान्न सामाग्री जुटाएर आश्रममा हस्तान्तरण गरिएको भन्दै अध्यक्ष भण्डारीले स्थापना दिवसलाई अर्थपूर्ण बनाउन सहयोग गर्ने सवै सदस्यप्रति आभार व्यक्त गरे ।

अध्यक्ष भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव अनिल तिवारीले गरेका थिए । उपाध्यक्ष राधेश्याम पटेलले कार्यक्रमको उदेश्य र चौतारीको स्थापना दिवसको विषयमा प्रकाश पारेका थिए ।

कलैयामा संचालित आश्रममा १७ जना बालबालिका छन् । खाद्यान्न बोकेर चौतारी बाराको टोली आश्रम पुगेपछि बालबालिकाहरु खुशी देखिएका थिए । चौतारीका सदस्य र आश्रमका बालबालिकाले स्थापना दिवसको केट काटेर खुशीयाली समेत साटासाट गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय