धनगढी । शीतलहर र बाक्लो हुस्सुका कारण धनगढी विमानस्थलमा सोमबार विहानका उडान र अवतरण प्रभावित भएको छ । हुस्सु लागेर भिजिबिलिटी कम भएपछि आज बिहानका सबै उडानहरू स्थगित गर्नुपरेको नागरिक उड्डयन प्राधिकरण धनगढीका प्रमुख रामकृष्ण भट्टले बताए ।

उनका अनुसार बुद्ध एयरलाइन्स, श्री एयरलाइन्स र सौर्य एयरलाइन्सको उडान प्रभावित भएको छ । ‘बिहानको कुनै पनि उडान हुन सकेन’, उनले भने ‘अझै मौसममा सुधार आएको छैन । सुधार नहुँदा सम्म उडान हुने संकेत देखिएको छैन ।

उनले काठमाण्डौं–धनगढीदेखि लिएर सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा हुने उडान प्रभावित भएको बताए । धनगढी–काठमाण्डौं दैनिक सात वटा उडान हुने गरेको छ । सुदूरपश्चिम प्रदेशको विभिन्न पहाडी जिल्लामा दैनिक चारदेखि पाँच वटासम्म उडान हुने गरेको छ ।

हिजो पनि खराब मौसमका कारण उडान प्रभावित भएको थियो । ३ बजे सम्म मौसममा सुधार नआएपछि तीन वटा उडान रद्द भएको उनले जानकारी दिए ।

धनगढी विमानस्थलमा भिजिबिलिटी कम भएको बेला पनि उडान गर्न सकिने उपकरण जडान गरिए पनि त्यो अझै प्रयोगमा आउन नसकेको जनाइएको छ ।

करिव साता दिनदेखि घाम नलागेका कारण कैलालीको न्यूनतम तापक्रम ९ डिग्री सेल्सियसमा झरेको हावापानी फिल्ड कार्यालय अत्तरियाले जानकारी दिएको छ ।

कार्यालयका प्रमुख सिंगल चौधरीले घाम नलागेका कारण जनवरीमा धेरै चिसो भइरहेको बताए । ‘अहिले हुस्सुसमेत लागेर घाम लाग्न नसकेपछि चिसो बढेको हो’, उनले भने ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय