शनिबार बिहान करिब २ बजेको समयमा पसल फुटाएर मोबाईल चोरी गर्ने पाँच जनालाई बारा प्रहरीले पक्राउ गरेको छ । बारा जिल्लाको प्रसौनी गाँउपालिका वडा नम्बर २ मा रहेको श्री मोबाईल पसल फुटाएर मोबाईल चोरी गरेकालाई प्रहरीले आज पक्राउ गरेको हो ।
पक्राउ पनेमा बारा प्रसौनी गाउँपालिका वडा नं. १ प्रसौनी टोलमा बस्ने २४ वर्षीय बिशाल मुखिया, २२ वर्षीये बलिराम मुखिया, २० वर्षीय राम मुखिया, २७ वर्षीय पवन पटेल र वडा नं.४ खुटुवा टोल बस्ने २३ वर्षीये रम्तुलाह अंसारी रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा प्रहरी नायब उपरिक्षक राजेश थापाले बताए ।
प्रहरीले विशेष सूचना आधारमा खोजतलास गर्ने क्रममा जिल्ला बारा प्रसौनी गा.पा.वडा न.१ मा बस्ने बिशाल मुखिया संलग्नता रहेको यकिन भएपश्चात मुखियाको घरमा खानतलासी गर्ने क्रममा पसलबाट चोरी भएको मालसामान मुखिया सुत्ने कोठाको खाट मुनि लुकाई राखेको ३ बटा झोलामा ९४ थान नयाँ मोबाइल सेट, ब्याट्री, चार्जर, राउटर बरामत गरेको छ ।
खानतलासी गर्ने क्रममा प्रहरीले मुखिया घरबाट चामलको बोरामा लुकाई छिपाई राखेको अवस्थामा अवैध लागू औषध गाँजा ६ किलो समेत फेला पारेको हो ।
मुखियाको बयानका आधारमा प्रहरीले चोरी कार्यमा संलग्न भएका अन्य ३ जना व्यत्तीलाई समेत पक्राउ गरी डाँका चोरी मुद्दामा बारा जिल्ला अदालतबाट ५ दिनको म्याद लिई हिरासतमा राखी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।