सिमरा। राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक प्रतिवेदनले बाराको जनसंख्या करिब साढे सात लाख देखाएको छ । राष्ट्रिय योजना आयोगको केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको प्रतिवेदनले बाराको जनसंख्या सात लाख ४३ हजार नौ सय ७५ देखाएको हो ।

विभागका अनुसार यो प्रारिम्भक तथ्यांक हो । बाह्रौ जनगणनाको अन्तिम तथ्यांक आउन बाँकी छ । हाल कन्ट्रोल फारमको आधारमा विभागले प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेको हो ।

प्रारम्भिक प्रतिवेदनका आधारमा तुलना गर्ने हो भने पछिल्लो १० वर्षमा बाराको जनसंख्या ५६ हजार दुई ६७ जनाले वृद्धि भएको छ । यसअघि २०६८ सालमा भएको एघारौं जनगणनामा बाराको जनसंख्या छ लाख सतासी हजार सात सय आठ थियो । जसअनुसार बाराको वार्षिक जनसंख्या बृद्धिदर ०.७५ रहेको छ ।

प्रतिवेदन अनुसार बारामा पुरुषको संख्या तीन लाख ८० हजार एक सय ९२ र महिलाको संख्या तीन लाख ६३ हजार सात सय ८३ देखिन्छ । कुल एक लाख १२ हजार तीन सय २९ घरमा गरिएको गणनाले परिवार संख्या एक लाख ३४ हजार तीन सय ९० देखाएको छ ।

तथ्यांक अनुसार जिल्लाको १६ स्थानिय तह मध्ये सबैभन्दा बढी जनसंख्या कलैया उपमहानगरपालिका र कम जनसंख्या प्रसौनी गाँउपालिकामा देखिएको छ । विभागले सार्वजनिक गरेको प्रतिवेदन अनुसार जिल्लाको १६ स्थानिय तहको जनसंख्या यस्तो छः

कलैया उपमहानगरपालिका

प्रारम्भिक तथ्यांकले कलैया उपमहानगरपालिको जनसंख्या एक लाख ४१ हजार एक सय ७९ देखाएको छ । जसमध्ये ७२ हजार पाँच सय ४० पुरुष र ६८ हजार छ सय ३९ महिला छन् । उपमहानगरपालिकाको १९ हजार आठ सय १० घरमा गणना गर्दा यो विवरण आएको हो । उपमहानगरपालिकाभित्र २३ हजार सात सय ६० परिवार संख्या रहेको छ । यस उपमहानगरपालिकामा २७ वटा वडा छन् ।

जीतपुरसिमरा उपमहानगरपालिका

जीतपुरसिमरा उपमहानगरपालिकाको जनसंख्या एक लाख १९ हजार एक सय ४८ देखिएको छ । जसमा पुरुषको संख्या ६० हजार चार सय ६१ र महिलाको संख्या ५८ हजार छ सय ८७ रहेको छ । उपमहानगरपालिकाको १९ हजार आठ सय ४८ घरमा गणना गर्दा उक्त संख्या देखिएको हो । तथ्यांकले २३ हजार छ सय ७७ परिवार संख्या देखाएको छ । उपमहानगरपालिकभित्र २४ वटा वडा छन् ।

महागढीमाई नगरपालिका

जिल्ला भित्रका पाँच नगरपालिकामध्ये महागढीमाई नगरपालिकाको जनसंख्या बढी देखिएको छ । तथ्यांकअनुसार महागढीमाई नगरपालिकाको जनसंख्या ५९ हजार सात सय ४४ रहेको छ । जसमध्ये ३० हजार सात सय १७ पुरुष र २९ हजार २७ महिला छन् । महागढीमाई नगरपालिकाभित्र आठ हजार २० घरधुरी र नौ हजार नौ सय ५२ परिवार संख्या रहेको तथ्यांकले देखाएको छ । नगरपालिकमा ११ वटा वडा रहेको नगरपालिकाको क्षेत्रफल ५५.३२ वर्ग किमि छ ।

सिम्रौनगढ नगरपालिका

सिम्रौनगढ नगरपालिकाको जनसंख्या ५३ हजार एक सय तीन रहेको छ । जसमा पुरुषको संख्या २७ हजार तीन सय ८७ र महिलाको संख्या २५ हजार सात सय २५ रहेको छ । सिम्रौनगढ भित्रको सात हजार छ सय ४५ घरमा गरिएको गणनाले उक्त तथ्यांक देखाएको हो । सिम्रौनगढ नगरपालिकाभित्र नौ हजार ६४ परिवार संख्या रहेको तथ्यांकले देखाउछ । सिम्रौनगढमा नौ वटा वडा रहेका छन् ।

कोल्हबी नगरपालिका

जनसंख्याको हिसाबलेका कोल्हबी नगरपालिका जिल्लाभित्रको १६ पालिकामध्ये पाचौंमा देखिएको छ । कोल्हबी नगरपालिकाको जनसंख्या ४६ हजार दुई सय प्रारम्भिक तथ्यांकमा उल्लेख छ । कोल्हबीमा पुरुष भन्दा महिलाको संख्या एक हजार चार सय ७६ ले बढी देखिएको छ । २२ हजार तीन सय ६२ जना पुरुष देखिएको कोल्हबीमा महिलाको संख्या २३ हजार आठ सय ३८ महिला रहेका छन् । कोल्हबीको १० वटा वडाको नौ हजार सात सय २८ घरमा गरिएको गणनाले परिवार संख्या ११ हजार चार सय ९५ तथ्यांक देखाएको छ ।

पचरौता नगरपालिका

जिल्लाको दक्षिणी भेगमा रहेको पचरौता नगरपालिकाको प्रारम्भिक जनसंख्या ४० हजार दुई ५२ देखिएको छ । जसमध्ये २० हजार चार सय ६८ पुरुष र १९ हजार सात सय ८४ महिला रहेका छन् । पचरौता नगरपालिकाभित्रको पाँच हजार एक २८ घरमा गणना गरिएको हो । गणनाका क्रममा उक्त पालिकाभित्र छ हजार चार सय दुई परिवार संख्या देखिएको छ । पचरौता नगरपालिकामा नौ वटा वडा छन् ।

निजगढ नगरपालिका

निजगढ नगरपालिकाको जनसंख्या ३६ हजार पाँच सय ९१ देखिएको छ । पूर्वपश्चिम राजमार्गमा पर्ने यो नगरपालिका भौगोलिक हिसाबले ठुलो पनि छ । राजमार्गको दायाँवायाँ दुवैतर्फ फैलिएको यो नगरपालिकामा पनि पुरुष भन्दा महिलाको संख्या केही बढी देखिएको छ । तथ्यांक अनुसार पुरुषको संख्या अठार हजार छ देखिएको यो पालिकामा महिलाको संख्या अठार हजार पाँच सय ८५ गणना गरिएको छ । नगरपालिकाको सात हजार नौ सय ३१ घरमा यो गणना भएको हो । गणनाले निजगढभित्र आठ हजार चार सय ५५ परिवारसंख्या देखिएको छ । निजगढ नगरपालिकामा १३ वटा वडा छन् ।

सुवर्ण गाँउपालिका

जिल्लाको नौ वटा गाँउपालिकामध्ये सुर्वणको जनसंख्या सबैभन्दा बढी देखिएको छ । जिल्लाको दक्षिण क्षेत्रमा रहेको यो पालिकाको जनसंख्या ३५ हजार आठ सय ७५ देखिएको छ । जसमा अठार हजार पाँच सय २८ पुरुष र १७ हजार तीन सय ४७ महिला रहेका छन् । सुवर्णको चार हजार सात सय ४३ घरमा गणना गरिएको हो । गणनाले आठ वटा वडा रहेको सुर्वण गाँउपालिकामा परिवार संख्या पाँच हजार पाँच सय ८४ देखाएको छ ।

बारागढी गाँउपालिका

बारागढी गाँउपालिकाको जनसंख्या २९ हजार आठ सय ३६ देखिएको छ । जसमध्ये १५ हजार एक सय ६४ पुरुष र १४ हजार छ सय ७२ महिला रहेका छन् । बारागढीको चार हजार ७१ घरमा गणना गरिएको हो । गणनाअनुसार बारागढीभित्र पाँच हजार एक सय १८ परिवार संख्या देखिएको छ । यस पालिकामा छ वटा वडा छन् ।

आदर्श कोतवाल गाँउपालिका

आदर्श कोतवाल गाँउपालिकाको जनसंख्या बारागढीकै हाराहारीमा छ । गणनाअनुसार आदर्शको जनसंख्या २९ हजार पाँच सय ८६ देखिएको छ । जसमध्ये पुरुषको संख्या १५ हजार एक सय ४१ र महिलाको संख्या १४ हजार चार सय ४५ रहेको छ । आदर्शको चार हजार दुई १७ घरमा गणना गरिएको र गणनाले पाँच हजार एक सय ९६ परिवार संख्या देखाएको छ । आदर्शमा आठ वटा वडा छन् ।

करैयामाई गाँउपालिका

महिला र पुरुष लगभग समान रहेको करैयामाईको जनसंख्या २९ हजार ४५ देखिएको छ । जसमध्ये पुरुषको संख्या १४ हजार पाँच सय ८३ र महिलाको संख्या १४ हजार चार सय ६२ रहेको छ । करैयामाईको चार हजार २६ घरमा उक्त गणना भएको हो । गणनाअनुसार आठ वटा वडा रहेको करैयामाईमा पाँच हजार एक सय ५४ परिवारसंख्या देखिएको छ ।

फेटा गाँउपालिका

जिल्लाको दक्षिण क्षेत्रमा अवस्थित फेटा गाँउपालिकाको जनसंख्या २८ हजार नौ सय २२ रहेको छ । प्रारम्भिक तथ्यांकअनुसार पुरुषको संख्या १४ हजार आठ सय ८८ र महिलाको संख्या १४ हजार ३४ देखिएको छ । फेटाको चार हजार चार सय १४ घरमा गणना भएको थियो । गणनाअनुसार फेटाको परिवार संख्या पाँच हजार एक सय ९५ देखिएको छ । फेटामा आठ वटा वडा छन् ।

देवताल गाँउपालिका

देवताल गाँउपालिकाको जनसंख्या २५ हजार ८२ देखिएको छ । जसमध्ये १३ हजार तीन सय ८८ पुरुष र ११ हजार छ सय ९४ महिला रहेका छन् । देवतालको तीन हजार एक सय ४३ घरमा उक्त गणना भएको हो । गणनाअनुसार देवतालको परिवार संख्या तीन हजार नौ सय ३६ रहेको छ ।

बिश्रामपुर गाँउपालिका

पर्सा जिल्लाको वीरगन्जबाट नजिक रहेको बिश्रामपुर गाँउपालिकाको जनसंख्या २३ हजार आठ सय ९१ देखिएको छ । जसमा पुरुषको संख्या १२ हजार पाँच सय ३५ र महिलाको संख्या ११ हजार तीन सय ५६ रहेको छ । बिश्रामपुरको तीन हजार छ सय ७८ घरमा गणना भएको र गणनाले उक्त पालिकाको परिवार संख्या चार हजार तीन सय १० देखाएको छ । बिश्रामपुरमा पाँच वटा वडा छन् ।

परवानीपुर गाँउपालिका

पथलैया-वीरगन्ज व्यापारिक राजमार्गमा पर्ने परवानीपुर गाँउपालिको जनसंख्या २२ हजार चार सय ६६ देखिएको छ । जसमा पुरुषको संख्या ११ हजार सात सय ६७ र महिलाको संख्या १० हजार छ सय ९९ रहेको छ । दुई हजार नौ सय ७५ घरमा गरिएको गणनाको प्रारम्भिक तथ्यांकले परवानीपुरमा परिवार संख्या तीन हजार छ सय ६४ देखिएको छ । परवानीपुरमा पाँच वडा छन् ।

प्रसौनी गाँउपालिका

जिल्लाकै सवैभन्दा कम जनसंख्या रहेको पालिका हो प्रसौनी । १६ स्थानिय तहमध्ये प्रसौनीमा सबैभन्दा कम जनसंख्या देखिएको छ । प्रारम्भिक तथ्यांकअनुसार प्रसौनीको जनसंख्या २१ हजार सात सय ४७ रहेको छ । जसमध्ये ११ हजार एक सय ४६ पुरुष र १० हजार छ सय एक महिला रहेका छन् । प्रसौनीको दुई हजार नौ सय २४ घरमा उक्त गणना भएको हो । गणनाअनुसार प्रसौनीमा परिवार संख्या तीन हजार चार सय देखिएको छ । प्रसौनीमा सात वडा छन् ।

बारामा मतदाता संख्या चार लाख भन्दा बढी

निर्वाचन कार्यालय बाराका अनुसार जिल्लामा मतदाता संख्या हालसम्म चार लाख १० हजार भन्दा बढी छन् । मतदाता नामावली संकलन कार्य जारी रहेकाले यो संख्या अझ बढ्न सक्ने निर्वाचन कार्यालय बाराका प्रमुख सरोजकुमार चौधरीले बताए ।

मतदाता नामावली संकलन कार्यलाई निर्वाचन कार्यायले निरन्तरता दिदै आएको छ । चौधरीका अनुसार बारामा हाल पाँच स्थानमा मतदाता नामावली संकलन कार्य भईरहेको छ । जिल्ला प्रशासन कार्यालय, जिल्ला निर्वाचन कार्यालय, ईलाका प्रशासन कार्यालय सिमरा, ईलाका प्रशासन कार्यालय कोल्हबी र ईलाका प्रशासन कार्यालय सिम्रौनगढमा मतदाता नामावली दर्ता गर्ने कार्य जारी छ ।

यसअघि निर्वाचन कार्यालयले जिल्लाको १३ वटा स्थानिय तहमा दुई चरणमा गरी मतदाता नामावली संकलन कार्यक्रम संचालन गरेको थियो । कलैया, जीतपुरसिमरा र कोल्हबी बाहेक अन्य स्थानिय तहमा उक्त कार्यक्रम संचालन गरिएको चौधरीले जानकारी दिए ।

निर्वाचन घोषणा नभएसम्म मतदाता नामावली संकलन कार्य जारी रहने हुदा जिल्लाको मतदाता संख्या थप हुन सक्ने चौधरीको भनाई छ । हाल देखिएको मतदाता संख्या समेत रुजु गर्न बाँकी रहेको चौधरीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय