
आन्तरिक हवाई यात्रुको बढी जमघट हुने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य सावधानीमा अपनाएको पादैन । पछिल्ला दिनमा निरन्तर कोभिडका सङ्क्रमित बढिरहेका छन् । प्रतिकूल मौसमका कारण उडान सामान्य प्रभावित हुँदा विमानस्थलमा यात्रुहरुको भीड लाग्ने गरेको बेलामा समेत स्वास्थ्य मापदण्ड तथा सामाजिक दूरी प्रति सतर्कता अपनाईएको पाईदैन ।
कोभिड–१९ महामारीको जोखिमलाई दृष्टिगत गर्दै सरकारले आन्तरिक हवाई उडानका यात्रुलाई अनिवार्य खोप कार्डको व्यवस्था गरेको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी) को बैठकले गत माघ ३ गते आन्तरिक हवाई उडानमा खोप कार्ड हुने यात्रुलाई मात्र बोर्डिङ पास उपलब्ध गराउने व्यवस्था मिलाउने निर्णय गरेको हो ।



हवाई उडानका लागि विमानस्थल पुग्ने यात्रुले अनिवार्य खोप कार्ड देखाउनुपर्ने हुन्छ । आन्तरिक उडानमा यात्रुको भीडभाड कम हुने गरी उडान तालिका मिलाउन पनि सिसिएमसीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई आग्रह गरेको थियो तर संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको बेवास्ताका कारण अहिले विमानस्थलमा यात्रुको निकै भिड देखिन्छ ।
सरकारले तेस्रो लहरको कोरोनालाई कम गर्न भीडभागजन्य गतिविधी र सार्वजनिक स्थानमा भेला तथा भीडभाड नगर्न आग्रह गर्दै २५ जना भन्दा बढी भेला नहुन सीमा तोकेको छ तर यो समेत यहाँ देख्न पाईदैन जसका कारण त्रिभुवन विमानस्थल कोरोनाभाइरस (कोभिड—१९)को उच्च जोखिममा रहेको पाईएको हो ।
देशका बिभिन्न स्थानमा जाने यात्रुहरुको चाप र भिडका कारण उच्च जोखिममा आन्तरिक हवाई उडान रहेको छ । सरकारले कोरोना रोकथामका सामाजिक दूरी कायम गर्नुपर्ने, भिडभाड कम गरेर जानुपर्ने, कोरोनाको जोखिम न्यूनीकरण गरी यात्रु वर्गले विमानस्थलको प्रयोग गर्नुपर्ने बताएको भएतापनि व्यवस्थापनको कमजेरीका कारण जोखिम मोलेर यात्रा गर्ने बाध्य भएको यात्रुहरुको गुनासो रहेको छ ।
यस हिसाबले हेर्दा कोरोनाको सबैभन्दा ठूलो जोखिममा नेपालको कुनै ठाउँ छ भने त्यो त्रिभुवन विमानस्थल नै हो । तरपनि विमानस्थलमा कोरोनाविरुद्ध सतर्कताका लागि अपनाउनुपर्ने उच्च सावधानी अपनाएको पादैन । सरकारको कोरोना रोकथामसम्बन्धी नियम यसरी सरकारी तबरबाटै उलंघन भएको देखिन्छ । त्रभुवन अन्तराष्ट्रिय विमानस्थलको आन्तरिक कक्षमा देखिएको ठूलो भीडले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत पर्ने विमानस्थलमा सयौंको संख्यामा उपस्थित यात्रुहरुको भीडभाडले सरकारको आदेशलाई चुनौती दिएको छ ।