पाल्पाः पाल्पामा आत्महत्या गर्नेको संख्या घट्न सकेको छैन। ०७७ साउनदेखि ०७८ असारसम्ममा ७७ जनाले आत्महत्या गरे। आत्महत्या गर्नेमा बालबालिकादेखि वृद्धसम्म छन्। १२ वर्षकी बालिका र ८४ वर्षकी वृद्धाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) रामेश्वर त्वातीले बताए।

माथागढी गाउँपालिका–४ झडेवाका १५ वर्षका सुमित गैरे र तिनाउ गाउँपालिका–६ मस्यामका बादल अर्घालीले आत्महत्या गरे। दुवै जना झुण्डिएका थिए। रिब्दीकोट गाउँपालिका–२ देउरालीकी १२ वर्षकी गोमा घर्ती र रम्भा गाउँपालिका–५ ताहुँकी १२ वर्षकै ललिता गाहा दुवै जना झुण्डिए।

तानसेन नगरपालिका–१२ अवलकी १८ वर्षीया कुसुम भन्ने रूपा पराजुली र तानसेन नगरपालिका–५ सेतिपोखरीकी १८ वर्षीया सरस्वती नेपालीले झुण्डिएर आत्महत्या गरे। रिब्दीकोट गाउँपालिका–७ पालुङमैनादीकी ८४ वर्षीया श्यामकुमारी राना पनि झुण्डिएको डिएसपी त्वातीले जानकारी दिए।

पछिल्लो एक वर्षमा २० वर्षमुनिका १५ जनाले आत्महत्या गरेका छन्। आत्महत्या गर्नेमध्ये अधिकांश युवा छन्। ७७ जनाले आत्महत्या गरेका थिए। तीमध्ये ३९ जना पुरूष र ३८ जना महिला छन्।

डिएसपी त्वातीले यस्ता घटना झुण्डिएर, विष खाएर, शरीरमा आगो लगाएर र गोली हानेर भएको बताए। पाल्पामा चार वर्ष यताका तथ्यांकले आत्महत्या नघटेको देखाउँछन्। ०७४/७५ मा ६५ जना, ०७५/७६ मा ८४ जना र ०७६/७७ मा ८८ जनाले आत्महत्या गरेका थिए।

यस्ता छन् आत्महत्या गर्नुका कारण

आत्महत्या गर्नुका कारण उमेरअनुसार फरक फरक छन्। ५० वर्षभन्दा माथिकाहरूले गरिबी, दीर्घरोगी, छोराबुहारीले नहेर्दा एक्लोपनका कारण आत्महत्या गरेको हुन सक्ने प्रारम्भिक अनुमान प्रहरीको छ।

प्रहरीका अनुसार बालबालिका र किशोरकिशोरीले बुवाआमाबाट माया नपाएर, मागेको कुनै सरसामान नपाउँदा आत्महत्या गरेको पाइएको छ। कतिपय बालबालिकाले पारिवारिक विचलनका कारण आत्महत्या गरेको प्रहरीको ठम्याइ छ।

बालविवाह पनि आत्महत्याको एउटा कारण रहेको छ। २० वर्ष नपुग्दै विवाह भएका किशोरीको आत्महत्या दर बढी रहेको तथ्यांकबाट देखिन्छ। प्रहरीका अनुसार चाहना विपरीत अभिभावकले विवाह गरिदिँदा आत्महत्या गरेका हुन सक्छ।

कतिपयले एउटासँग प्रेम र अर्कोसँग विवाह गर्नुपर्ने स्थिति उत्पन्न हुँदा आत्महत्या गरेको पाइएको डिएसपी त्वातीले बताए। कतिपयले बिहेपछि कामको अत्यधिक बोझ, मानसिक तनाव र सुख नपाउँदा आत्महत्या गरेको देखिएको छ।

वैदेशिक रोजगार पनि पछिल्लो समय आत्महत्याको एउटा कारण बन्दै गएको छ। विदेशमा काम गर्न गएका पति वा पत्नी लामो समय घर नआउँदा पत्नी वा पति अर्कैसँग लहसिने गरेका छन्। प्रहरीका अनुसार पति वा पत्नी घर फर्कँदा यस्ता अनैतिक सम्बन्ध लुकाउन उनीहरूले आत्महत्याको बाटो रोज्ने गरेका छन्।

सम्पत्ति हिनामिना गर्ने र अनैतिक सम्बन्धमा रहेका पुरुषले विवाह गर्न नमानेपछि उनीहरुसँग सम्बन्धमा रहेका महिलाहरुले आत्महत्या गर्ने प्रवृत्ति देखिएको डिएसपी त्वातीले बताए।

प्रहरीका अनुसार आत्महत्या बढ्नुमा फेसबुक जस्ता सामाजिक सञ्जालको बढ्दो दुरुपयोग पनि एउटा प्रमुख कारण बन्दै गएको छ। ‘फेसबुकमार्फत नयाँ व्यक्तिसँग चिनजान गर्ने, त्यहाँ चिनजान भएकै भरमा आर्थिक लेनदेन गरेको पाइन्छ,’ उनले भने, ‘पछि विवाह पनि नहुने र दिएको पैसासमेत फिर्ता नआउने भएपछि आत्महत्याको बाटो रोजेका छन्।’

विदेशमा गएका पति वा पत्नी एक वर्षभित्र घर फर्किने व्यवस्था भएमा आत्महत्याको संख्यामा कमी आउनसक्ने डिएसपी त्वाती बताउँछन्। सरकारले वैदेशिक रोजगारका गन्तव्य देशहरूसँग समन्वय गरेर एक वर्षमा कम्पनीकै खर्चमा घरमा आउन पाउने व्यवस्था मिलाउन सके आत्महत्याको दर निकै घट्ने उनको अनुमान छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय