बाराको आदर्शकोतवाल गाउपालिका ३ मा जन्तीको लागी तयार गरिएको बेहुला चढने रथले किचेर बारामा दुई जनाको घटनास्थलमै ज्यान गएको छ ।

ब्रम्हबाबाको पुजा सकेर जन्तीको तयारीको लागी हिडेको मानव भीडलाई रथले सोमवार राती करीब सवा सात बजे रौंन्देको प्रत्यक्षदर्शीले बताएका छन ।

एक्कासी हुईकिएको रथमा सवार २ जना महिलाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । सोही दुर्घटनामा १६ जना बढी मानिसहरु घाईते भएका छन । जसमध्ये ७ जनाको अवस्था गम्भिर रहेको छ ।

घाईते मध्ये ९ जनाको कलैया स्थित राज्यलक्ष्मी रिलिफ हस्पीटल प्राली र ७ जनाको बीरगंज स्थित न्यूरो अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी राजेश थापाले जानकारी दिए ।

उक्त दुर्घटनामा परी रथमा सवार आदर्श कोतवाल गाउँपालिका वडा नम्बर–३ बतरा बस्ने बनारसी रामको छोरी १५ बर्षिया निलम कुमारी राम र सिम्रौनगढ नगरपालिका वडा नम्बर–७ जानकीनगर टोल बस्ने दिपेन्द्र रामकी श्रीमती २५ बर्षिया बालकुमारी राम रहेको डिएसपी थापाले जानकारी दिए । मृतकहरुको शव परिक्षणको लागी जिल्ला अस्पताल कलैयामा ल्याईएको डिएसपी थापाले जानकारी दिएका छन ।

सोही दुर्घटनामा परी गम्भीर घाईते भएका आदर्श कोतवाल गाउँपालिका वडा नम्बर–३ बतराका २४ वर्षिय अरविन्द राम, १८ वर्षिय सियाराम राम, १२ वर्षिय जितेन्द्र राम, १० वर्षिय अजित राम सहित ७ जनालाई बीरगंज न्यूरो अस्पतालमा उपचारको लागी भर्ना गरिएको उनले जानकारी दिए ।

सोही दुर्घटनामा घाईते भएकी १२ वर्षिया सान्झा कुमारी, ५० वर्षिय सयल देवी राम, १७ वर्षिया श्रीपति कुमारी, १३ वर्षिय सागर राम, १८ वर्षिय नरेन्द्र राम सहित ९ जनाको राज्यलक्ष्मी रिलिफ हस्पीटल प्राली कलैयामा उपचार भईरहेको डिएसी थापाले जानकारी दिए ।

आदर्श कोतवाल गाउँपालिका–३ बतरा टोल बस्ने लक्षु राम महरा चमारको छोरा सियाराम महरा चमारको बिहेमा ल्याइएको मोटर रथ गाउँकै ब्रम्हस्थानमा पुजा गरी फर्किदै थियो । साझ करीब सवा ७ बज्दै थियो ।

रथ नजिकै रहेका सोही दुर्घटनामा परी घाईते भएका १८ वर्षिय नरेन्द्र रामले चालक फेरिएपछि रथको गति अनियन्त्रित भएको बताए । ‘ब्रम्हस्थानबाट केही अगाडी बढेको रथको चालकको सिटमा अर्को मानिस बसेको केही छिनमै तिब्र गतिमा गुड्न सुरु भएको थियो,’ अस्पतालमा उपचाररत अवस्थामा रहेका रामले भने, ‘अगाडी रहेका सबै मानिसलाई कुल्चिदै रथ केही पर रुखमा ठोकिएर पल्टिएको थियो ।’ रथ पल्टिदा त्यसबाट च्यापिएर रथमा सवार दुबै महिलाको मृत्यु भएको उनले बताए ।

रथको अगाडी र छेउछाउमा रहेका सबै मानिस घाईते भएको उनले जानकारी दिए । सोही जन्तीमा पाहुना बनेर आएकी बाजोपट्टीकी मतिया देवी रामले फिल्ममा देखाएको सिन जस्तै रथले मानिसलाई कुल्चेको बताईन ।

‘रथमा सवार र रथको दाया, बाया, अगाडी रहेका सबै मानिस घाईते भएका छन,’ उनले भनिन, ‘सबै अंगभंग भएका छन ।’ रथ चालकको बदमासीले ठुलो जनधनको क्षेती हुने गरी दुर्घटना भएको उनले जानकारी दिईन ।

रथले मानव भीडलाई अन्धाधुन्द रौंन्देपछि गाउमा भागदौड मच्चिएको थियो । धेरै मानिस भागदौडको क्रममा पनि घाईते भएको उनले जानकारी दिईन । सोही दुर्घटनामा उनको पोता घाईते भएका छन ।

घाईतेहरुको उपचारमा संलग्न राज्यलक्ष्मी रिलिफ हस्पीटल प्रालीका ईन्चार्ज समेत रहेका डा. ओमप्रकाश कुशवाहाले रथ दुर्घटनामा घाईते हुनेहरु मध्ये अधिकांशको टाउको, हातखुट्टा, निधार लगायतमा गम्भिर घाउचोट लागेको छ भने धेरैको हातखुट्टा फ्याक्चर भएको जानकारी दिए ।

राज्य लक्ष्मी अस्पतालमा मात्र १६ जना घाईते उपचारको लागी आएको उनले जानकारी दिए । त्यस मध्ये ४ जनालाई बीरगंज रेफर गरिएको उनले जानकारी दिए ।

‘कलैयामा उपचार सम्भव भएका बिरामीलाई उपचार गरीरहेका छौं,’ उनले भने, ‘केही घाईतेको अप्रेशन गर्ने तयारी समेत गरेका छौं ।’ यहा उपचार सम्भव नभएका बिरामीलाई मात्र बीरगंज रेफर गरिएको उनले जानकारी दिए ।

दुर्घटनामा घाईते भएकाहरु मध्ये अधिंकाश महिला तथा बालबालिका रहेको चिकित्सक कुशवाहाले जानकारी दिए । घाईतेहरुलाई राज्यलक्ष्मी रिलिफ हस्पीटल प्रालीका २ जना कन्सलटेन्ट सहित ६ जना विशेषज्ञ चिकित्सक तथा ३० जना स्वास्थ्यकर्मीहरु मिलेर उपचार गरेको कुशवाहाले जानकारी दिए ।

घाईतेहरुलाई आदर्श कोतवाल ईलाका प्रहरी कार्यालय, स्थानीय वासिन्दाको सहयोगमा घाईतेहरुको उद्धार गरी अस्पताल पु¥याईएको आदर्श कोतवाल गाउपालिका ३ का वडाध्यक्ष विरेन्द्र यादवले जानकारी दिए ।

नम्बर प्लेट नभएको चारपाङ्ग्रे सवारीलाई रथ बनाएर बिहेवारीमा बेहुला बस्नको लागी ल्याईएको उनले जानकारी दिए ।

बिहेवारीमा नम्बर प्लेट नभएको रथ निर्वाध रुपमा संचालन भईरहे पनि त्यलाई नियमन गर्न, नियन्त्रण गर्न प्रहरी प्रशासनले चासो नदेखाएको सरोकारवालाले गुनासो गरेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय