वीरगञ्ज । मधेश प्रदेशका मुख्यमन्त्री मोहम्मद लालबाबु राउत गद्दीको वीरगञ्जस्थित घरमा ढुङ्गा प्रहार भएको छ । मुख्यमन्त्री राउतको वीरगञ्ज महानगरपालिका –१३ तेजारथ टोलस्थित घरमा ढुङ्गा प्रहार भएको हो ।

प्रदेशको स्थायी राजधानी जनकपुर तोकिएपछि वीरगञ्जमा असन्तुष्टि चुलिएको छ । मुख्यमन्त्री राउतले वीरगञ्जलाई राजधानी बनाउन भूमिका नखेलेको भन्दै कतिपयले असन्तुष्टि जनाउँदै आएका छन् । विभिन्न समूहले राजधानी तोकिनु अघि पनि वीरगञ्जलाई स्थायी राजधानी बनाउनुपर्ने माग राखेर वीरगञ्जमा प्रदर्शन गरेका थिए ।

वीरगञ्जलाई राजधानी बनाउनु पर्ने माग राखेर नेपाली कांग्रेस वीरगञ्ज महानगर कमिटिले मंगलबार र्‍याली निकालेको थियो । सोही र्‍यालीमा सहभागी एक युवकले मुख्यमन्त्रीको घरमा ढुंगा प्रहार गरेको प्रहरीको आरोप छ । ढुंगाले लागेर मुख्यमन्त्री राउतको घरको शिशा फुटेको प्रहरीले जनाएको छ ।

मुख्यमन्त्रीको घरमा ढुंगा हानेको आरोपमा वीरगञ्ज-१ छपकैया बस्ने २६ वर्षीय सुमन पटेललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताए । पक्राउ परेका पटेल नेपाली कांग्रेसको र्‍यालीमा सहभागी भएको उनको दावी छ । उनी विरूद्ध आपराधिक उपद्रको मुद्दा दर्ता गर्ने तयारी रहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय