काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले चिसो बढ्दै गएकोले सतर्क रहन आग्रह गरेको छ । सोमबार न्यूज एजेन्सी नेपालसँगको कुराकानीका क्रममा महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले जाडो मौसम शुरु भएसँगै चिसो बढ्दै गएकोले चिसोबाट बच्न सतर्कता अपनाउनु पर्ने बताएका हुन् ।

उनले गत १० दिनको तापक्रम हेर्दा काठमाडौं उपत्यकासहित देशभर चिसो बढ्दै गएको बताए । वरिष्ठ मौसमविद् पौडेलका अनुसार गत १० दिनमा काठमाडौंको तापक्रम १७ डिग्रिबाट ८ डिग्रि सेल्सियससम्म झरेको बताए । उनले कात्तिक महिनामा नै जुम्लाको तापक्रम माइनस १ डिग्रि सेल्सियससम्म पुगेको जानकारी दिए ।

आगामी दिनमा काठमाडौं उपत्यकाको तापक्रम घटेर माइनस वा जिरो डिग्री सेल्सियससम्म पुग्ने अनुमान महाशाखाले गरेको उनले बताए ।

वरिष्ठ मौसमविद् पौडेलले भने, ‘यो हप्ता दिन १० दिन भयो, खास गरी नेपालको विभिन्न स्थानको बिहानको र रातिको न्यूनतम तापक्रम (चिसिने क्रम) बढ्दै गएको देखिन्छ, हप्ता, १० दिनको कुरा हेर्दा न्यूनतम तापक्रम काठमाडौंको १६/१७ डिग्रिबाट घट्दै ९ डिग्रिसम्म गएको अवस्था छ ।’

कात्तिक महिनामा नै यत्ति चिसो बढ्दै जानुले आगामी दिनमा चिसो कति बढ्दै जान्छ भनेर अहिले नै भन्न नसकिने उनको भनाइ छ । ‘मौसम केन्द्रको तथ्यांक हेर्दा जुम्लामा माइनस १ सम्म पुगेको अवस्था छ, काठमाडौंमा ९ डिग्रीसम्म आएको अवस्था छ,’ उनले भने, ‘त्यसले गर्दा काठमाडौंको तापक्रम अहिले नै माइनसमा जान्छ भनेर भन्न सकिँदैन । तर यो वर्ष तापक्रम माइनस वा जिरोको आसपास जान सक्छ । अझै जाडो आउने दिनहरु मंसिर, पुस, माघ महिना बाँकी नै छ, कात्तिकमै यत्तिको जाडो हुँदा यही क्रमले अलि जाडो हुने देखिन्छ ।’

वरिष्ठ मौसमविद् पौडेलले भारत र चीनमा पनि प्रदूषण बढीरहेकोले नेपालमा पनि जाडो याममा मुख्य शहरहरुमा प्रदूषण बढ्न सक्ने बताए । उनले लामो समयसम्म खडेरी भएमा प्रदूषण वायु मण्डल नजिकै बस्ने र हावा नचल्ने भएकोले काठमाडौं लगायत वीरगञ्ज, धनगढी, नेपालगञ्ज, र जनकपुर जस्ता शहरहरुमा आगामी दिनमा प्रदूषण बढ्ने बताए । वरिष्ठ मौसमविद् पौडेल प्रदूषणबाट बच्न स्थानीय, प्रदेश र केन्द्र सरकारले अहिलेदेखि नै तयारीमा लागेर जनधनको क्षति हुन नदिने तर्फ लाग्नुपर्ने सुझाव दिन्छन् । उनले जाडोलाई मध्यनजर गर्दै त्यसबाट बच्नका लागि सरकारले तयारी थाल्नु पर्ने बताए ।

‘भारत, चीनको बेइजिङमा पनि पोलुसन (प्रदूषण) बढ्दै गएको छ भन्ने कुराहरु आइरहेको छ, गत वर्ष पनि नेपालका काठमाडौं लगायत मुख्य शहरहरुमा जाडो याममा बढी तुवाँलो लागेको थियो, धुम्म भएको थियो, अत्याधिक प्रदूषित शहर भनिएको थियो,’ उनले अगाडि भने, ‘यो वर्ष पनि मौसमको भाषाले भन्दा वर्षा याम वा चैत्र, वैशाख, जेठ जस्तो ठूलो हावाहुरी, लामो समय पानी पर्ने हुँदैन, लामो समयसम्म पानी परेन, हावा चलेन भने प्रदूषण जमीन नजिकै वायुमण्डलको तल्लो तहमा थिग्रिएर बसेको हुन्छ, त्यसले गर्दा काठमाडौं लगायत वीरगञ्ज, धनगढी, नेपालगञ्ज, जनकपुर आगामी दिनमा पनि प्रदूषण हुन सक्ने सम्भावना छ ।’

लामो समय हिउँद र वर्षा याममा वर्षा भएन भने यस्तो प्रदूषण हुने उनको भनाइ छ । उनले अगाडि भने, ‘तराईमा हुस्सु लाग्ने हुन्छ, चिसो लाग्ने सम्भावना माइनसमै जान्छ भनेर भन्न सकिँदैन, तर काठमाडौंको कुरा गर्दा चिसो शून्यकै आसपासमा हुन्छ, त्यसैले जाडो यामलाई मध्यनजर गर्दै त्यही अनुसार तयारी थाल्नु बुद्धिमानी हुन्छ ।’

वरिष्ठ मौसमविद् पौडेल जाडो याममा बढी नै प्रदूषण हुने भन्दै घरबाट ननिस्किन, मर्निङ वाकमा नजान र बालबालिका, वृद्धवृद्धालाई चिसोबाट बचाउने उपायहरु अपनाउन सुझाव दिन्छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय