१२ सय ग्रामको गिनिज बुक अफ वल्र्ड रेकर्ड पुस्तक लगातार तीन घन्टा ४० मिनेट औँलामा घुमाए
चार घन्टा चार मिनेट ४४ सेकेन्ड औँलामा प्लेट घुमाए
गिनिज बुक अफ वर्ल्ड रेकर्डको पुस्तक एक मिनेटमा सबैभन्दा बढीपटक औँलाले फन्को लगाए

रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–११ का २० वर्षीय मानसिंह ओली (प्रभास) लाई सानैदेखि कापी, किताब वा अन्य कुनै सामान औँलामा घुमाउन औधी मन पथ्र्यो । उनी कापी, किताब होस् वा अन्य कुनै ठोस वस्तु पाउनेबित्तिकै हातको औँलामा घुमाउन थालिहाल्थे । यही बानीले उनलाई अहिले विश्व कीर्तिमानी बनाएको छ ।

सदरमुकाम मुसीकोटस्थित त्रिभुवन जनता माविमा स्कुल तहको शिक्षा पूरा गरेर उनी उच्च शिक्षाका लागि काठमाडौं पुगेका थिए । उनी अहिले काठमाडौंको शंकरापुर पोलिटेक्निकल कलेज साँखुमा जियोमेट्रिक्स इन्जिनियरिङ पढिरहेका छन् । काठमाडौं पुगे पनि उनमा नानीदेखि लागेको बानी हराउने कुरै भएन । जे भेटे पनि औँला घुमाइहाल्थे ।

यहीबीचमा उनले लामो समय औँलामा किताब घुमाउँदा पनि विश्व रेकर्ड बन्छ भनेर थाहा पाए । आफ्नो बानी त कला पो रहेछ भनेर उनले थाहा पाए र विश्व रेकर्डका लागि प्रयास गर्ने सोचे । तर, उनलाई थाहा थिएन, त्यसका लागि के गर्नुपर्छ भनेर । ‘उनी पहिलोपटक काठमाडौं पुगेका थिए, कसैलाई चिनेको पनि थिएन,’ उनले भने, ‘तर, मौका मिल्यो भने एकपटक प्रयास गर्छु भन्ने लागिरहेको थियो ।’ आज यिनै मानसिंहका नाममा तीनवटा विश्व रेकर्ड छन् ।

पार्कर कीर्तिमानी दिनेशको साथ

विश्व रेकर्डका लागि प्रयास गर्न पार्करका कीर्तिमानी दिनेश सुनारले उनलाई सहयोग गरे । दिनेशलाई भेटेर कला देखाएको र आफ्नो योजनाबारे सुनाएपछि उनले सहयोग गरेको मानसिंहले बताए । सन् २०१९ मा मानसिंहले विश्व रेकर्डमा सहभागी हुन फारम भरे । त्यसपछि मानसिंहको अभ्यासको गति पनि बढ्यो । मानसिंहले गिनिज बुक अफ वल्र्ड रेकर्ड २०१८ को पुस्तक किनेर ल्याए । रेकर्डका लागि उक्त पुस्तक नै घुमाउनुपर्ने प्रवधान छ ।

तर, उनले सुरुमा पाँच मिनेटसम्म पनि उक्त पुस्तक घुमाउन सकेनन् । यसले सुरुमा त उनी खिन्न भए । तर, अठोट लिएर उनी निरन्तर लागिराखे । बिस्तारै उनलाई यो पुस्तक घुमाउने पनि बानी पर्दै गयो । एक वर्षभन्दा लामो समयको कडा मिहिनेतपछि उनी १२ सय ग्रामको गिनिज बुक अफ वल्र्ड रेकर्डको पुस्तक दुई घन्टाभन्दा बढी घुमाउन सक्ने भए ।

त्यसपछि उनको आत्मविश्वास बढ्दै गयो । विश्व रेकर्डका लागि भरेको फारम पनि स्वीकृत भयो । तर, अब मानसिंहलाई अर्को चिन्ताले सतायो । चिन्ता थियो, विश्व रेकर्डका लागि कार्यक्रम कसले आयोजना गरिदेला ? तर, उनै दिनेशको सहयोगमा मानसिंहलाई विश्व रेकर्डमा सहभागी हुन दुई संस्थाले सहयोग गर्ने भए । एउटा थियो, ब्यालेन्स ग्रुप अफ कम्पनी र अर्को हिमालयन अर्गानिक मार्ट । यी दुई संस्थाले मार्च महिनामा आयोजना गरेको कार्यक्रममा मानसिंहले विश्व रेकर्ड बनाए । गिनिज बुक अफ वल्र्ड रेकर्डको १२ सय ग्राम अर्थात् एक किलो दुई सय ग्राम तौलको पुस्तक मानसिंहले लगातार ३ घन्टा ४० मिनेट औँलामा घुमाए । यो विश्व रेकर्ड बन्यो ।

लगातार रेकर्ड कायम

यति रेकर्डले मात्रै उनी रोकिएनन् । पहिलो रेकर्ड कायम गरेको ६ महिनामा मानसिंहले थप दुईवटा रेकर्ड कायम गरे । उनले ४ असोजमा काठमाडौंको बानेश्वरमा आयोजित कार्यक्रममा थप दुईवटा रेकर्ड राखे । एउटा रेकर्ड थियो, सबैभन्दा लामो समय प्लेट औँलामा घुमाउने र अर्को गिनिज बुक अफ वर्ल्ड रेकर्डको पुस्तक एक मिनेटमा सबैभन्दा बढीपटक फन्को लगाउने । उनले चार घन्टा चार मिनेट ४४ सकेन्डसम्म प्लेट औँलामा घुमाए । यसअघि सो रेकर्ड भारतका हिमान्सु गुप्ताको नाममा थियो ।

उनले दुई घन्टा १० मिनेट चार सेकेन्डमा यो रेकर्ड राखेका थिए । त्यस्तै, मानसिंहले गिनिज बुक अफ वल्र्ड रेकर्डको १२ सय ग्राम तौल भएको पुस्तक औँलामा एक मिनेटमा तीन सय ५३ पटक घुमाए । यो रेकर्ड नेपालकै राजन घिमिरेको नाममा थियो । उनले एक मिनेटमा तीन सय १५ पटक पुस्तक घुमाएका थिए । २० वर्षको उमेरमै तीनवटा रेकर्ड बनाएका मानसिंहले आगामी दिनमा पनि थप रेकर्ड राख्ने रहर रहेको बताए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय