नुवाकोट । संसारकै सबैभन्दा ज्येष्ठ भएको दावी गरिएकी नुवाकोट छापगाउँकी बाटुली लामिछानेलाई सरकारले घर निर्माण गरिदिएको छ। ककनी गाउँपालिका वडा नं. ८ छापथोककी ११९ वर्षीया बाटुली लामिछानेका लागि घर निर्माण गरिएको हो।

वृद्धा लामिछानेको बसोबासका लागि गाउँमा बनाइएको आधुनिक घरको उद्घाटन गरिएको छ। १० लाख रुपैयाँको लागतमा वृद्धाको घर निर्माण गरिएको हो। नवनिर्मित भवनको वागमती प्रदेश सरकारका पूर्वमन्त्री तथा एमाले नुवाकोटका उपाध्यक्ष वद्री मैनालीले उद्घाटन गर्दै लामिछानेलाई सरकारले अन्य सहयोग पनि गर्नु पर्ने बताए।

वृद्धा लामिछाने आफ्नो घरमा आउने सबैलाई नमस्कार गर्छिन्। स्वास्थ्यले साथ नदिएपछि उनी केही महिनादेखि बिरामी छिन्। लामिछाने बुढ्यौलीका कारण प्रष्टसँग बोल्न सक्दिनन् भने उनको सहयोगमा स्थानीय ककनी गाउँपालिकाले पनि मासिक रुपमा १० हजार रुपैयाँ उपलव्ध गराउँदै आएको छ। भवन उद्घाटन कार्यक्रममा सहभागीले वृद्धा लामिछानेसँग आर्शीवादसमेत थापेका छन्।

वृद्धा बाटुलीलाई विश्वको सबैभन्दा वृद्धा भएकोले गिनिज बुकमा नाम लेखाउन सक्रियता बढाइएको छ। उनलाई सरकारी स्तरबाट विभिन्न सम्मान तथा पुरस्कार समेत प्रदान गरिसकिएको छ। उनलाई सरकारले घर बनाइदिएको छ भने प्रदेश सांसद तथा स्थानीय सरकारले मासिक भत्ता दिइरहेको छ।

१९५९ साल चैत्र १० गते सिन्धुपाल्चोकको साविक बाँसबारी गाविस वडा नं. १ गिरानचौरमा माता देवीकुमारी र पिता जयनारायण तिवारीको कोखबाट जन्मिएकी हुन्। बाटुली नुवाकोटको पूर्वी भेगमा रहेको थानसिङ छापथोकमा छविलाल लामिछानेसँग विवाह गरेर आएकी हुन्। अहिले ८१ वर्ष टेकेका छोरा नेत्रप्रसाद त्यसबेला जन्मिंदा पैसा कमाउन परदेशिएका उनका श्रीमान हालसम्म फर्किएका छैनन्।

हाल उनका एक छोरा, चार नातिनी, पाँच पनाती, पाँच पनातिनी र एक खनाती छन्। उनलाई छोराबुहारी तथा नातिनातिनाले स्याहारसुसार गर्ने गरेका छन्। ककनीस्थित पर्यटकीय रानीपौवा बजारदेखि पश्चिमतर्फ एक घण्टा दुरी पार गरेपछि वृद्धा बाटुलीको घर पुगिन्छ। उनलाई घरमै पुगेर महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय तथा वागमति प्रदेशतहबाट पुरस्कार तथा सम्मान गरिसकिएको छ।

उनको नाम गिनिज बुकमा लेखाउन अभियान सुरु गरिएको महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले जनाएको छ। यसलाई वागमति प्रदेश सरकार तथा स्थानीय तहलेसमेत साथ दिइरहेको छ।

संसारकै सबैभन्दा बढी ११९ वर्षसम्म जीवित रहेर नेपालको राष्ट्रिय धरोहरको रुपमा रहेका कारण सरकारले उनको घरमै पुगेर उनलाई राष्ट्रिय सम्मान दिएर नगद तथा जिन्सी उपहार दिएको हो। उनलाई ककनी गाउँपालिकाले दुई वर्षदेखि मासिक नगद १० हजार तथा वागमति प्रदेश सभाका पूर्व कृषि तथा सहकारी राज्यमन्त्री बद्री मैनालीले मासिक पाँच हजार रुपैयाँ नगद दिंदै आएका छन्।

लामो आयु भएकी वृद्धा लामिछाने सबैको प्रेरणाको अभिभावक भएको कारण उनी नेपालकै इज्जत र गौरव भएको एमाले नुवाकोटका उपाध्यक्षसमेत रहेका बद्री मैनालीले बताए। ज्येष्ठ नागरिक बाटुली लामिछानेलाई सहयोग गर्न पाउनु नेपाल र नेपालीकै सम्मान भएको उनको भनाइ छ।

ककनी गापाकी उपाध्यक्ष सीता खतिवडाले ज्येष्ठ नागरिक बाटुली लामिछानेलाई आफ्नै गापाले मासिक रुपमा आर्थिक सहयोग गर्न पाउनु नुवाकोटवासीको मात्र नभइ सारा नेपालीको खुसीको विषय भएको बताइन्। ‘अब वृद्धा बाटुलीको नाम विश्व रेकर्ड कायम गर्न हामीहरुको माग रहेको छ’, उपाध्यक्ष खतिवडाले बताइन्।

ककनी–८ का वडाध्यक्ष शेषमान लामाले वृद्धा बाटुली लामिछानेलाई गापाले मासिक रुपमा १० हजार रुपैयाँ भत्ता उपलव्ध गराउनुका साथै बेला बेलामा स्वास्थ्य परीक्षण गराइरहेको बताए। संसारकी सबैभन्दा ज्येष्ठ उमेरकी बाटुली आमालाई आगामी दिनमा अन्य आवश्यक सामग्रीहरु प्रदान गरी गाउँपालिकाले संरक्षकत्व ग्रहण गरिरहेको वडाध्यक्ष लामाको भनाइ छ।

बाटुलीको गिनिज बुकमा नाम लेखाउन सरकारले सक्रियता अपनाइदिनु पर्ने उनका ७९ वर्षीय छोरा नेत्रप्रसाद लामिछानेले तीनवटै तहको सरकारसँग माग गरेका छन्।

सामाजिक सुरक्षाको माध्यमबाट सम्पूर्ण जेष्ठ नागरिकको सम्मानमा आफूहरुले कुनै कसर बाँकी नराख्ने ककनी गापाका अध्यक्ष मानबहादुर लामाले बताए। लामिछानेको सुरक्षित आवास निर्माण व्यवस्थापनको लागि सांसद बद्री मैनालीले बागमति प्रदेश सांसद पूर्वाधार कार्यक्रमअन्तर्गत कार्यविधि र नियमावली अनुरूप आवास निर्माणका लागि १० लाख रूपैयाँ उपलब्ध गराएपछि आवास निर्माण गरिएको हो।

वृद्धा लामिछानेलाई भेट्नका लागि हाल नुवाकोटवासी मात्रै नभइ देशकै अन्य स्थानबाट समेत मानिसहरु पुग्ने गरेका छन्। उनीसँग दर्शन गरेर आर्शीवाद लिनेहरु निकै रहेको स्थानीय बताउँछन्।

वृद्धा बाटुली प्रत्येक दिन बिहान–बेलुका दूधसँग मासिनो गरी पिसेको भात अनि अरु समयमा हर्लिक्स, बिस्कुट र झोल पिएर खान्छिन्। परिवारमा पाँच पुस्ताको फैलावट भइसके पनि लामिछानेको स्वस्थ्य सामान्य देखिन्छ।

दाँत झरेका कारण मुखबाट समय–समयमा र्‍याल पनि आउँछ। फुलेका कपाल खासै झरेका छैनन्, आँखा तेजिला देखिन्छन्, उनका बोली स्पष्ट नभए पनि अरुले कानमा पुगेर भनेका कुरा सुन्ने र बुझ्न सक्छिन्।

हालसम्म विश्वमा ११८ वर्षीय जापानी नागरिक काने तानाकाको नाममा रेकर्ड देखिएको छ। तानाकाभन्दा जेठी लामिछानेलाई नेपालले अभिलेखीकरणको प्रक्रियामा ढिलाइ गरेकाले उक्त विश्व पहिचान प्राप्तिमा ढिलाइ भएको स्थानीयको भनाइ छ।

वृद्धा लामिछानेको आवासका लागि निर्माण गरिएको बाला भवन उद्घाटनसँगै हस्तान्तरण गरिएको छ। उनलाई ह्विलचियरमा राखेर मञ्चमा लगिएको थियो भने उनी झण्डै पाँच घण्टासम्म एकै ठाउँमा रहेर अरुले लगाइदिएको खादा, दोसल्ला ओढेर बसिन् र सहभागीको आकर्षणको केन्द्र भइरहिन्।
‘मलाई आशीर्वाद दिनुस् आमा’ भन्दै खुट्टा छुन पुग्नेलाई टाउकामा हात राखिदिने, ‘मलाई चिन्नुभो ?’ भन्नेहरुलाई एकछिन हेरेर हाँसिदिनेजस्ता उनका व्यवहार टाढाबाट त्यहाँ पुगेकाका लागि अप्रत्यारिलो लाग्न सक्छ

उनलाई वर्षौँदेखि देखिरहेका पनाती श्याम ढुंगाना भन्छन्, ‘उहाँ बलियो हुनुहुन्छ, अझै केही वर्ष केही हुँदैन।, तर, सरकारले उहाँलाई विश्वकै ज्येष्ठको पहिचान दिलाउन भने ढिलाइ गर्नु हुँदैन।’

बाटुलीका ८१ वर्षीय छोरा नेत्रप्रसाद लामिछाने रातिको समयमा आमालाई पिसाब आउँदा उठेर हिँड्न पनि सक्ने र त्यसक्रममा लड्न सक्ने भएकाले एक जनाले नियमित रेखदेखको काम गर्ने गरेको बताउँछन्। बुहारी इश्वरी लामिछानेका अनुसार सासुआमालाई हालसम्म कुनै गम्भीर रोग नभएकाले उपचारका लागि अस्पताल लैजान नपरे पनि पछिल्लो समयमा कहिलेकाहीँ ज्वरो आउने भएकाले औषधि खुवाउने गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय