काठमाडौं– पछिल्लो केही साता यता नेपालसहित छिमेकी देशहरुमा समेत कोरोना भाइरसको संक्रमण दर घट्दो क्रममा रहेको छ । मंगलबार नेपालमा ९ हजार ६ सय २६ जनाको परीक्षण गर्दा एक हजार ३६ जनामा संक्रमण पुष्टि भएको थियो भने ५ जनाको निधन भएको थियो ।

छिमेकी भारतमा भने मंगलबार २६ हजारमा संक्रमण पुष्टि भएको थियो भने २ सय ५२ जनाको निधन भएको थियो ।

यसैबीच, भारतको नयाँ दिल्लीस्थित एम्सका निर्देशक डा.रणदीप गुलेरियाले कोरोना भाइरस अब महामारी नरहेको धारणा व्यक्त गरेका छन् ।

त्यसो त उनले जबसम्म सबै व्यक्तिहरुलाई कोरोना विरुद्धको खोप लगाईँदैन, तबसम्म सतर्क रहनु अनिवार्य भएको समेत बताएका छन् ।

खासगरी मुखैमा आएका चाडपर्वको बेला हरेक व्यक्तिले सतर्कता अपनाउनु पर्ने उनको धारणा छ ।

पूर्ण रुपले कहिले सकिँदैन कोरोना

डा. गुलेरियाका अनुसार यदि मानिसहरुले सावधानी अपनाए भने बिस्तारै कोरोनााबाट संक्रमित हुनेहरुको संख्या अझ कम हुनेछ ।

त्यसो त कोरोना विश्वबाट कहिले पनि पूर्ण रुपले समाप्त नहुने पनि उनले बताएका छन् ।

यद्यपि, जसरी विभिन्न देशहरुमा खोप अभियान जारी छ, त्यसले कोरोनालाई अब महामारीकै रुप लिने अथवा ठूलो समुदायमा फैलने सम्भावना कम छ ।

डा. गुलेरियाका अनुसार कोरोना भाइरस चाँडै नै आम फ्लू अर्थात साधारण रुखा, खोकीको रुपमा परिवर्तन हुनेछ, किनभने मानिसहरुमा अब यो भाइरसविरुद्ध इम्युनिटी तयार गरिसकेको छ ।

यद्यपि, बिरामी तथा कमजोर इम्युनिटी भएका व्यक्तिहरुमा भने यसको खतरा कायमै रहने छ ।

बुस्टर डोजको आवश्यकता

खोपले जीवनभर सुरक्षा प्रदान गर्छ अथवा केही समयपछि दोस्रो बूस्टर डोजको पनि आवश्यकता पर्छ भन्ने प्रश्न खोप लगाइसकेका मानिसको मनमा उब्जिएको छ ।

यस बारेमा डाक्टर गुलेरिया भन्छन् –‘सबै मानिसलाई खोपको दोस्रो डोज पनि लगाउनु पहिलो प्राथमिकता हो, बालबालिकालाई पनि खोप लगाउनु पर्छ । त्यसपछि मात्र बूस्टर डोजको बारेमा सोच्नु पर्छ ।’

संसारका सबै देशमा खोप समान रुपमा लगाउनु पर्छ । जबसम्म संसारका सबै देशमा पूर्ण मात्रामा खोप लाग्दैन, तबसम्म अन्य देशहरुका लागि पनि खतरा हुन्छ ।

खोप लगाइसकेका रोगी, वृद्धा अथवा कमजोर प्रतिरोधक क्षमता भएका मानिसलाई बूस्टर डोज दिन सकिन्छ ।

पहिला जुन खोप लगाएको थियो, बूस्टर त्यहि हुनु पर्छ भन्ने छैन ।

जुन सुकै खोप लगाएर पनि बूस्टरको काम गर्न सकिन्छ ।

केही मानिसलाई बूस्टर डोजको आवश्यकता पर्न सक्छ, तर यसबारेमा सोचेर मात्र निर्णय गरिनेछ ।

बूस्टरभन्दा पहिला सबैलाई खोप लगाउनु आवश्यक छ त्यसपछि मात्र बूस्टरको कुरा आउँछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय