इटहरी। गाँजा तस्करी गरेको अभियोगमा सुनसरी प्रहरीले इटहरीका एक दम्पत्तीलाई पक्राउ गरेको छ। गत सोमबार इटहरीबाट विराटनगर जाँदै गरेका उनीहरुलाई कोशी राजमार्गको खनारबाट २१ किलो गाँजासहित पक्राउ गरेको हो।

प्रहरीकाअनुसार धनकुटाको साँगुरी गढी वडा नं. ८ घर भइ इटहरी ४ मा डेरा गरी बस्ने २७ वर्षीय दीपेन्द्र राई र उनकी श्रीमती २५ वर्षीय शर्मिला राई पक्राउ परेका हुन्। प्र.१–०२–०४३ प.८८०४ नं. को मोटरसाइकलमा विराटनगरतर्फ जाँदै गरेका उनीहरुलाई चेकजाँच गर्ने क्रममा गाँजा फेला परेको थियो।

प्रहरीकाअनुसार उनीहरुले ह्याप्पी बर्थडे लेखिएको रंगीचंगी र्‍यापिङ पेपरले बेरेको कार्टुन बोकेका थिए। शंका लागी हेर्दा २१ पोका गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख सञ्जयसिंह थापाले जानकारी दिए। उनका अनुसार राई दम्पतीले प्रयोग गरेको मोटरसाइकलको इन्जिन नम्बर र चेसिस नम्बर पनि मेटाएर प्रष्ट नदेखिने अवस्थामा रहेको थियो।

दम्पती पक्राउ परेपछि उनीहरुको सहयोगमा प्रहरीले गाँजा ओसार पसारमा संलग्न भारतको बिहारस्थित अररीया जिल्ला जोगवनी थाना पिपरा पञ्चायत ०६ विसनपुरका टुनटुन यादवलाई समेत मोरङ प्रहरीको सहयोगमा विराटनगर १५ बाट पक्राउ गरेको छ। तीनै जनालाई जिल्ला अदालतबाट लागु औषध मुद्दामा नौ दिन म्याद लिइ थप अनुसन्धान भैरहेको कार्यालयले जनाएको छ।

यस्तै सुनसरी प्रहरीले धरान उपमहानगरपालिका १७ नमुना सुन्दरबस्ति सर्दु खोलाको बगरबाट वेबारिसे अवस्थामा २० किलो गाँजा फेला पारेको जानकारी दिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय