काठमाण्डौ । विगत केही दिनदेखि लगातार परिरहेको पानी आजबाट कम भई घाम लागेको छ । नेपालको तराई भूभाग नजिक रहेको मनसुनको न्यून चापीय रेखा औसत स्थानभन्दा दक्षिणतिर सरेकाले मनसुन आज केही कमजोर भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका मौसमविद् सविना शाक्यका अनुसार अब केही दिन मनसुन कमजोर रहने भएकाले निरन्तरको भारी वर्षाको सम्भावना छैन । ‘बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावका बिहानपख मौसम सफा हुने तथा मध्याह्नतिर बदली भई हल्कादेखि मध्यम वर्षा हुनेछ’ उनले भने ।

हाल देशभर सामान्य बदली रही प्रदेश नं १, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । राति देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावनाका साथै वाग्मती प्रदेशका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित भारी वर्षाको सम्भावना छ ।

बुधबार देशभर सामान्य बदली रही केही स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना औँल्याएको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १९ दशमलव ६ डिग्री र अधिकतम तापक्रम २८ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ ।

त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १४ दशमलव ८ डिग्री र सबैभन्दा धेरै धनगढीको अधिकतम तापक्रम २९ दशमलव ५ डिग्री सेल्सियस रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय