नेपाली कांग्रेसमा देखिएको क्रियाशील सदस्यता विवाद मिलेको छ। सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाबीच बूढानिलकण्ठमा सोमबार बेलुकी छलफलपछि समस्याको समाधान गर्ने सहमति भएको हो।
शीर्ष नेताहरूबीच विवादित वडामा १३ औं महाधिवेशनकै क्रियाशील सदस्यबाट अधिवेशन गर्ने सहमति भएको छ। भदौ १८ मा देशभरका छ हजार सात सय ४३ वडामा अधिवेशन छ। कांग्रेसमा वडा अधिवेशनका मतदाता क्रियाशील सदस्य हुन्।
क्रियाशील सदस्यतामा देखिएका विवाद हल गर्न केन्द्रीय समितिले पूर्वमहामन्त्री सिटौला र केन्द्रीय सदस्यद्वय मिनेन्द्र रिजाल र रमेश लेखकलाई जिम्मेवारी दिएको थियो। उनीहरूले करिब एक साता छलफल गरेर सहमतिमै विवाद टुंग्याएका छन्। सिटौलाले सोमबार बेलुकी १० बजे सभापति देउवालाई प्रतिवेदन नै बुझाइसकेका छन्।
‘नवीकरणमा कुनै विवाद देखिए विगत महाधिवेशनको क्रियाशील सदस्यताको प्रमाणलाई आधार मानेर कार्यान्वयन गर्ने’ पनि शीर्ष नेताहरू बीचमा सहमति भएको छ।
पनि सहमति भएको छ। तर त्यसका लागि विगत महाधिवेशनका बेलाको क्रियाशीलको प्रमाण पेश गर्नुपर्ने हुन्छ।
यस्तै अरू पार्टीबाट कांग्रेसमा समायोजन भई आएकाहरूलाई पनि क्रियाशील दिने सहमति भएको छ। प्रक्रिया पुर्याएर केन्द्रबाट नाम पठाइएकाहरूको नाम परिवर्तन गरेको भए त्यस्तो नाम हटाउने शीर्ष नेताबीच सहमति छ।
तर समायोजन भई आएकाहरूलाई धेरै संख्यामा क्रियाशील नदिन पनि नेताहरू सहमत भएका छन्।
‘कुनै पनि वडामा १३ औं महाधिवेशनको क्रियाशील सदस्य संख्याभन्दा समायोजनको क्रियाशील सदस्य संख्या बढी भएमा बढी भए जति १४ औं महाधिवेशनका लागि स्थगित गरी १४ औं महाधिवेशनपछि प्रक्रिया पुर्याई सदस्यता दिने’ निर्णय भएको एक नेताले बताए।
यस्तै कैलाली जिल्लाको प्रतिनिधि सभा क्षेत्र नम्बर १ टिकापुर नगरपालिका वडा नम्बर १ को क्रियाशील सदस्यतामा वडाले पठाएका नामावली र क्षेत्रीय सभापतिले पठाएका नामावलीबारे अध्ययन गरी उपयुक्त संख्यामा स्वीकृत गर्ने सहमति पनि भएको छ।
सप्तरी र बारा जिल्ला लामो समयदेखि क्रियाशीलबारे विवाद थियो। बाराका नेता तथा कार्यकर्ताले एक महिनादेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना दिइरहेका थिए।
सप्तरीको प्रतिनिधि सभा क्षेत्र नम्बर ३ को रूपनी गाउँपालिका २, शम्भुनाथ नगरपालिका ३, ५, ७, ८, ११ र १२ तथा बारा जिल्लाको प्रतिनिधि सभा क्षेत्र नम्बर ३ को फेटा नगरपालिका ७, कलैया उपमहानगरको १४, जितपुर-सिमरा उपमहानगरको १४ र बाराको प्रतिनिधि सभा क्षेत्र नम्बर २ को पचरौला नगरपालिका १, २, ६, ७, ८, ९ मा पुरानै क्रियाशीलबाट अधिवेशन हुने भएको छ।
बाराको सुवर्ण गाउँपालिका २, ३, ४, देवताल गाउँपालिका वडा नम्बर ४, महागढी नगरपालिका १, २, ४, ६, ७ र करैयामाई गाउँपालिका २, ५ को क्रियाशील सदस्यता १४ औं महाधिवेशनमा स्थगित गरी महाधिवेशनपछि प्रक्रिया पुर्याएर सदस्यता दिने सहमति भएको छ।
सप्तरीको प्रतिनिधिसभा क्षेत्र नम्बर १, २, ४ र बाराको प्रतिनिधिसभा क्षेत्र नम्बर १, ४ को नयाँ क्रियाशील सदस्यता १४ औं महाधिवेशनका लागि स्थगित गर्ने सहमति भएको छ।
साथै यी प्रतिनिधि सभा क्षेत्रका सबै वडाहरूमा १४ औं महाधिवेशन सकिएपछि प्रक्रिया पुर्याएर क्रियाशील सदस्यता दिने सहमति भएको हो। नवीकरणमा कुनै विवाद देखिएमा विगत महाधिवेशनको क्रियाशील सदस्य नामावलीको आधारमा दिने पनि सहमति भएको छ।
धनुषाको क्षेत्र नम्बर ४ र सर्लाहीको क्षेत्र नम्बर २ को विवाद हल गर्न भदौ १२ गतेसम्म समय दिइएको छ।
बाराको १६६ क्रियाशील फारम र सोलुखुम्बुको ५१५ नामावली १४ औं महाधिवेशनका लागि स्थगित गरिएको छ। उनीहरूलाई १४ औं महाधिवेशनपछि क्रियाशील दिने नेताहरूबीच सहमति छ।
नेताहरूबीच भएको सहमतिअनुसार निर्णय कार्यान्वयन गर्न केन्द्रीय सदस्यहरूलाई जिम्मेवारी दिने निर्णय पनि भएको छ।
जसअनुसार प्रदेश नम्बर १ र २ मा आनन्द ढुंगाना र जीवन परियार, बागमती प्रदेश र गण्डकीमा श्याम घिमिरे र प्रदीप पौडेल, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा जीवन परियार र योगेन्द्र चौधरीलाई जिम्मेवारी दिने सहमति भएको छ।