रौतहट । पत्रकारलाई मोटरसाइकलमा लागुऔषध राखेर फसाउने कार्यमा जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुखकै संलग्नता देखिएको छ ।

साउन ३२ गते आफ्नै जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएका सादा पोशाकका कर्मचारीले संचारकर्मी मोजुबुल्लाहको बिआर ३० एस १८८५ नम्बरको भारतीय मोटरसाइकलमा लागुऔषध नाइट्राभेट राखेका थिए । प्रहरी सहयाक निरिक्षक उदय प्रसाद यादव र प्रहरी जवान मनोज साहले दुई व्यक्तिको सहयोगमा सो घटना घटाएको सिसिटिभीको फुटेजले देखाएको छ ।

साउनको अन्तीम साता बिदा जानु भन्दा पहिले उपरिक्षक शाहले नै योजना बनाएर आफु बिदा गए पछि सो काम सकाउन असई यादवलाई खटाएका थिए । सोही अनुरुप योजनाबद्ध हिसाबले मोजिबुल्लाहलाई होटेलमा बोलाएर बाहिर उनको मोटरसाइकलमा लागुऔषध राखिएको थियो ।

जिल्ला प्रहरीले आज गरेको पत्रकार सम्मेलनमा यस घटनाको मुख्य योजनाकार संजय सहनी भएको बताएको छ । सहनीकै निर्देशनमा धिरज यादव र जितेश यादवले प्रहरीसँग मिलेर लागुऔषध सहित निर्दोषलाई फसाएको प्रहरीको दाबी छ । तर प्रहरी उपरिक्षकले संजय सहनीलाई दोषी चित्रण गरिरहदा उनै सहनीसँग घटना पश्चात गरेको कुराकानीको अडियो फेला परेको छ ।

एसपीले पत्रकार सम्मेलन मार्फतनै दोषी भनेका सहनीको मोबाइलमा घटनाको एक दिन पछि सम्पर्क गर्दै आफ्ना प्रहरी कर्मचारीले काम सम्पन्न गरेकोमा खुशी व्यक्त गरेका थिए । फोनमा उनले भनेका छन “हिजो काम भएछ नी त है ।”
एसपी शाहले सहनीलाई आफै फोन गर्दै कहाँ हो ? एक्लै हो की भनेर शुरुमा सोध्छन । काम सके लगतै तत्कालै असइले आफुलाई फोन गरेको बताउदै फोनमा उनले अगाडी भनेका छन “अब अहिले जसको काम पक्षमा काम गर्यो राम्रो भयो, जसको अहितमा काम गर्यो उसले नराम्रो भन्न शुरु गरि हाल्छ नी ।”

शाह आफै फस्ने भएपछि उनले घटनाको दोष सबै संजय सहनीको टाउकोमा थुपारेका हुन । एसपी शाहले कसको इशारामा काम गरेको भन्ने पता लगाउन जरुरी रहेको नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष प्रेमचन्द्र झाले बताए ।
पत्रकार सम्मेलनमा प्रहरीले सहनीलाई दोषी देखाएर आफु पन्छीन खोजेको र एउटा पत्रकारलाई छोडेर फेरी अर्को पत्रकार फसाउन लागेकोमा पत्रकार महासंघका केन्द्रीय सदस्य शिव पुरीले आपती जनाएका थिए । पत्रकार सम्मेलनमा बोल्ने अधिकांश पत्रकारले प्रहरीको अनुसन्धान झुठो रहेको दाबी गरेका थिए । प्रहरीले भने अनुसन्धान सफलरुपमा गरेको उपरिक्षक शाहले बताए ।

पक्राउ परेका ईशनाथ नगरपालिका ८ का मो. मोजिबुल्लाह र राजपुर नपा ७ का शेख गुलाब भन्ने शेख अतिउल्लाहलाई प्रहरीले आज रिहा गरेको छ ।

(यस्तो छ संवाद)
पत्रकार : सर नमस्ते
एसपी : कता हो संजय जी ?
पत्रकार : घरमै सर
एसपी : एक्लै हो ?
पत्रकार : हो सर, एक्लै हो
एसपी : हिजोको काम त भएछ नी हैन त (हास्दै)
पत्रकार : भईहाल्छ नि सर, भाईहाल्छ नि
एसपी : ठिक छ, (हाँसो), फोन गरेको थियो मलाई
पत्रकार : औकात भन्दा बढी मान्छे हुनुहुन्न नि कोहि पनि
एसपी : हाँसो
पत्रकार : कसले फोन गर्नुभएको थियो सर ?
एसपी : के र ?
पत्रकार : कसले फोन गर्नुभएको थियो हजुरलाई ?
एसपी : हैन, मलाई तत्कालै असईले फोन गरेको थियो नि
पत्रकार : ए ! ए जे होस् हजुरको दुतहरु राम्रो छन् एकदम
एसपी : अँ, अहिले काम गर्दे राम्रो भयो, जसको अहिलेमा काम ग¥यो उले नराम्रो भन्न सुरु गरिहाल्छ नि, यहाँ त त्यहि हो नि
पत्रकार : त्यहिँ हो सर,
एसपी : यहाँको समस्य त्यहि त हो नि, हैन, है त
पत्रकार : हुन्छ, हस् हस्

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय