नेपाल प्रहरीमा नियमित सरुवा प्रक्रिया अन्योलमा परेको छ। एक वर्षे कार्यकाल पूरा गरेका प्रहरी अधिकारीहरू १५ महिनाभन्दा बढी समयदेखि एउटै कमान्डमा कार्यरत रहँदा पनि सरुवाको टुंगो लाग्न सकेको छैन। जिल्ला प्रहरी प्रमुखदेखि इलाका प्रहरी कार्यालय र प्रहरी वृत्तको नेतृत्व गरिरहेका डीएसपीसम्म सरुवाको प्रतीक्षामा छन्। प्रहरी नियमावलीले परिकल्पना गरेको नियमित सरुवा प्रणाली व्यवहारमा कमजोर देखिएको छ।

जिल्ला प्रहरी प्रमुख, गण तथा ट्राफिक प्रमुख, प्रदेश प्रहरी प्रमुख र तालिम केन्द्रका प्रमुखलगायत विभिन्न निकायको नेतृत्वमा रहेका अधिकारीको सामान्यतः एक वर्षपछि सरुवा गर्ने अभ्यास छ। तर, नयाँ सरकार गठनपछि नियमित सरुवा प्रक्रिया प्रभावित बनेको छ। केही दिनअघि एसपीहरूको सरुवा गरिए पनि त्यसपछि अन्य तहका अधिकारीको सरुवा प्रक्रिया अघि बढ्न सकेको छैन।

प्राप्त जानकारीअनुसार जिल्लाको कमान्ड सम्हालिरहेका अधिकांश प्रहरी प्रमुखको कार्यकाल १५ महिनाभन्दा बढी भइसकेको छ। पहाडी जिल्लाका जिल्ला इन्चार्ज, इलाका प्रहरी कार्यालयका प्रमुख तथा काठमाडौं उपत्यकाका विभिन्न प्रहरी वृत्तको नेतृत्व गरिरहेका डीएसपीहरूको समेत एक वर्षे अवधि पूरा भएको छ। दार्चुला, डडेल्धुरा, मुगु, प्युठान, कालिकोट र पाँचथरलगायत जिल्लामा कार्यरत डीएसपीहरू एक वर्षभन्दा बढी समयदेखि एउटै जिम्मेवारीमा छन्।

सरुवाको समयसीमा पूरा भइसके पनि निर्णय नहुँदा प्रहरी अधिकारीहरू अन्योलमा छन्। एक प्रहरी अधिकारीका अनुसार कमान्ड सम्हालेका अधिकृतहरू एक वर्षे कार्यकाल पूरा भएपछि सरुवा हुने अपेक्षामा दिन गनेर बस्छन्। सरुवाको प्रतीक्षामा रहेका अधिकारीहरू नयाँ जिम्मेवारी पाउने आशामा हुन्छन्। तर, सरुवा अन्योल लम्बिँदा उनीहरू थप जिम्मेवारी लिन र जोखिम मोल्नसमेत हिचकिचाउने अवस्था बनेको छ।

प्रहरी संगठनभित्र सरुवा केवल जिम्मेवारी परिवर्तन होइन, वृत्ति विकास र अवसरको वितरणसँग पनि जोडिएको विषय हो। एउटै कार्यालयमा निर्धारित समयभन्दा लामो समय बस्नुपर्ने अवस्थाले नयाँ कार्यक्षेत्रमा अनुभव हासिल गर्ने अवसर प्रभावित हुन्छ। नियमित सरुवा नहुँदा संगठनभित्र जिम्मेवारीको समान वितरण र नेतृत्व विकासको प्रक्रियामै प्रश्न उठेको छ।

प्रहरी नियमावलीले एसपी तहसम्मका अधिकारीको सरुवा गर्ने अधिकार प्रहरी महानिरीक्षकलाई दिएको छ। तर, व्यवहारमा गृह मन्त्रालयसँगको समन्वयलाई पनि महत्त्व दिने गरिएको प्रहरी अधिकारीहरू बताउँछन्। यही समन्वय र निर्णय प्रक्रियामा देखिएको ढिलाइले सरुवालाई थप अन्योलमा पारेको उनीहरूको भनाइ छ।

सरुवामा गुटगत स्वार्थको प्रभाव?

प्रहरी संगठनभित्र सरुवा प्रक्रिया लम्बिनुको पछाडि आन्तरिक गुट तथा उपगुटको प्रभाव रहेको चर्चा छ। प्रहरी नेतृत्व तहमा देखिएको दुई धार र शक्ति सन्तुलनको प्रयासले सरुवा निर्णय प्रभावित भएको अधिकारीहरूको दाबी छ। जिल्ला तथा अन्य महत्त्वपूर्ण कमान्डमा कसलाई पठाउने भन्ने विषयमा सहमति जुट्न नसक्दा निर्णय प्रक्रिया अघि बढ्न नसकेको बताइन्छ।

प्रहरी संगठनको नेतृत्वले नियमित र पारदर्शी सरुवा प्रणालीलाई संस्थागत गर्नुपर्नेमा आन्तरिक शक्ति सन्तुलन र स्वार्थको प्रभाव देखिनु संगठनका लागि सुखद संकेत होइन। सरुवा जस्तो नियमित प्रशासनिक प्रक्रियासमेत नेतृत्वको प्राथमिकतामा पर्न नसक्नुले संगठनको निर्णय क्षमता र व्यवस्थापनमाथि प्रश्न उठाएको छ।

चाँडै सरुवा गर्ने प्रहरीको दाबी

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी अबिनारायण काफ्लेले अवधि पुगेका प्रहरी अधिकारीको सरुवा छिट्टै गर्ने तयारी भइरहेको बताएका छन्। उनका अनुसार सामान्यतः एक वर्षमा सरुवा गर्ने अभ्यास रहे पनि विभिन्न परिस्थितिका कारण समय केही तलमाथि हुन सक्छ।
तर, एक वर्षे कार्यकाल पूरा भएर थप महिनौँसम्म पनि सरुवा हुन नसक्नु सामान्य प्रशासनिक ढिलाइ मात्रै हो वा प्रहरी नेतृत्वभित्रको निर्णयगत असमझदारीको परिणाम हो भन्ने प्रश्न उठेको छ। सरुवा कहिले हुन्छ भन्ने प्रतीक्षामा रहेका प्रहरी अधिकारीहरूलाई आश्वासनभन्दा निर्णयको खाँचो छ। प्रहरी संगठनमा नियमित सरुवा प्रणालीलाई प्रभावकारी बनाउने जिम्मेवारी अन्ततः प्रहरी नेतृत्वकै हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय