काठमाडौं । सामाजिक सम्झौता सिद्धान्तका दार्शनिकहरू थोमस हब्स, जोन लक र जाँजाक रूसोको विचार उद्धृत गर्दै काठमाडौं क्षेत्र नं. १ बाट स्वतन्त्र उम्मेदवारी दिएका अधिवक्ता कमल कोईरालाले चुनावलाई ‘सामाजिक सम्झौताको आवधिक नवीकरण’ का रूपमा व्याख्या गरेका छन।
‘क्याप’ चुनाव चिह्न लिएर मैदानमा उत्रिएका कोईरालाले लोकतन्त्रमा निर्वाचन केवल प्रतिनिधि चयन गर्ने प्रक्रिया मात्र नभई जनता र राज्यबीचको वैधताको स्रोत भएको बताएका छन। उनका अनुसार सामाजिक सम्झौता सिद्धान्तकै उपजका रूपमा जनताले चुनावमार्फत आफ्नो सार्वभौम इच्छा प्रकट गर्दै प्रतिनिधिलाई नीति तथा कानुन निर्माण गर्ने अधिकार प्रदान गर्छन।



‘चुनाव भनेको पाँच वर्षमा हुने औपचारिक प्रक्रिया मात्र होइन, यो सामाजिक सम्झौताको शान्तिपूर्ण सुधार संयन्त्र हो,’ उनले भने,‘यदि प्रतिनिधि जनताको अपेक्षाअनुसार काम गर्न असफल हुन्छन भने जनताले फेरि मतमार्फत सुधारको बाटो रोज्न सक्छन।’
कोइरालाले मतदातासामु मूल प्रश्न उठाएका छन,‘हामी नेता छान्दैछौं कि प्रतिनिधि?’ उनका अनुसार लोकतन्त्रमा व्यक्ति पूजाको राजनीति होइन, जवाफदेहिता र उत्तरदायित्व केन्द्रित प्रतिनिधित्व आवश्यक हुन्छ। ‘नेता बन्ने आकांक्षा भन्दा प्रतिनिधि बन्ने जिम्मेवारी ठूलो हो,’ उनले जोड दिए।
काठमाडौं–१ का मतदातालाई सम्बोधन गर्दै उनले संविधानले सुनिश्चित गरेको आवधिक निर्वाचनलाई आत्ममूल्यांकनको अवसरका रूपमा लिन आग्रह गरे। ‘सम्झौताको नवीकरण गर्दै गर्दा आफ्नै खुट्टामा बन्चरो नहान्ने संकल्प गरौं,’ उनले भने,‘अब केवल नवीकरण होइन, सुधार र रूपान्तरण आवश्यक छ।’
स्वतन्त्र उम्मेदवार कोईरालाले आफू कुनै दलगत घेराबन्दीभन्दा माथि उठेर नागरिकको प्रत्यक्ष प्रतिनिधित्व गर्न चाहेको दाबी गरे। उनका अनुसार पारदर्शिता, विधिको शासन र जनउत्तरदायित्व आफ्नो अभियानका मुख्य आधार हुन।
काठमाडौं क्षेत्र नं. १ मा यसपटकको प्रतिस्पर्धा रोचक बन्ने आकलन गरिँदैछ। स्वतन्त्र उम्मेदवारका रूपमा कोईरालाको ‘नेता होइन, प्रतिनिधि’ भन्ने नाराले मतदाताबीच कत्तिको प्रभाव पार्नेछ, त्यो भने मतपरिणामले तय गर्नेछ।






