निजगढस्थित तिलगंगा सामुदायिक आँखा अस्पताल निजगढले बालबालिकामा देखिने ‘अल्छि आँखा’ (एम्ब्लायोपिया) समस्या पहिचान तथा उपचारका लागि विशेष अभियान सुरु गरेको छ।

अस्पतालले निजगढ नगरपालिका सँगको सहकार्यमा नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीलाई लक्षित गर्दै सचेतनामूलक कार्यक्रम अघि बढाएको हो।

अभियानको पहिलो चरण अन्तर्गत विद्यालयहरूमा ‘अल्छि आँखा’ सम्बन्धी जानकारी दिने पोस्टर टाँस्ने तथा पर्चा–पम्प्लेट वितरण गर्ने कार्य सुरु गरिएको अस्पताल प्रशासनले जनाएको छ। प्रशासन प्रमुख सुधिर श्रेष्ठका अनुसार अभिभावक, शिक्षक र विद्यार्थीलाई आँखा परीक्षणप्रति सचेत गराउँदै जाँचमा सहभागी गराउने लक्ष्य राखिएको छ।

उनले दोस्रो चरणमा अस्पतालको विशेषज्ञ टोली विद्यालयमै पुगेर विद्यार्थीहरूको आँखा परीक्षण गर्ने जानकारी दिए। ‘धेरै बालबालिकामा आँखा सम्बन्धी समस्या हुन सक्छ, तर परीक्षणको अभावमा पहिचान हुन सकेको छैन,’ श्रेष्ठले भने, ‘यो अभियानले प्रारम्भिक चरणमै समस्या पत्ता लगाउन सहयोग र्पुयाउनेछ।’

अस्पतालका प्रमुख डा. विष्णुहरी मरहट्टाका अनुसार ‘अल्छि आँखा’ समस्या विश्वभर बढ्दो क्रममा रहेको छ। समयमै पहिचान र उपचार नभए बालबालिकाको दृष्टिमा दीर्घकालीन असर पर्न सक्ने भएकाले सबै पक्ष सचेत हुन आवश्यक रहेको उनले बताए।

एम्ब्लायोपिया भएका बालबालिकामा कक्षा कोठाको बोर्ड स्पष्ट नदेखिने, हिँड्दा ठोक्किने, टीभी वा मोबाइल निकै नजिकबाट हेर्ने, आँखा खुम्च्याएर वा टाउको बाङ्गो पारेर हेर्ने, बारम्बार आँखा मिच्ने तथा टाउको दुख्ने जस्ता लक्षण देखिने चिकित्सकहरूले बताएका छन।

यस्ता लक्षण देखिएमा तुरुन्त आँखा परीक्षण गराई आवश्यक परे चश्मा प्रयोग वा अन्य उपचार गर्नुपर्ने डा. मरहट्टाले सुझाए। उनका अनुसार १० वर्ष उमेरभित्र नै उपचार गरिएमा ‘अल्छि आँखा’ समस्या पूर्ण रूपमा सुधार गर्न सकिन्छ।

अस्पतालले सञ्चालन गरेको यो अभियानले निजगढका बालबालिकामा दृष्टिदोष सम्बन्धी समस्या न्यूनीकरण गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय