प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बारा जिल्लामा क्लिन स्वीप गरेको छ। जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवारहरू विजयी हुँदै क्लिन स्वीप गरेका हुन।

बाराका चारवटै क्षेत्रमा रास्वपाका उम्मेदवारहरूले फराकिलो मतान्तरसहित जित हासिल गरेका छन।

निर्वाचन परिणाम अनुसार बारा क्षेत्र नम्बर १ मा गणेश धिमाल ३९ हजार ९९८ मतका साथ विजयी भएका छन। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार शम्भुबहादुर बुढाथोकीले १४ हजार २२३ मत प्राप्त गरेका छन। धिमालले बुढाथोकीलाई २५ हजार ७७५ मतको भारी अन्तरले पराजित गरेका हुन। यसै क्षेत्रमा नेकपा एमालेका उम्मेदवार अच्युतप्रसाद मैनालीले ११ हजार ६४५ मत प्राप्त गरे। नेपाल कम्युनिस्ट पार्टीका सन्तोष दंगालले २ हजार ८७८ र जनता समाजवादी पार्टी (जसपा)का रामबाबु प्रसाद यादवले २ हजार ५३० मत प्राप्त गरेका छन।

बारा क्षेत्र नम्बर २ मा रास्वपाका चन्दन कुमार सिंह ३५ हजार ५९० मतका साथ विजयी भएका छन। उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी नेपालका रामकिशोर प्रसाद यादवले १४ हजार १९६ मत प्राप्त गरेका छन। उनीहरूबीचको मतान्तर २१ हजार ३९४ रहेको छ। यसै क्षेत्रमा नेपाली कांग्रेसका भैयाराम प्रसाद यादवले ११ हजार ८३७ मत प्राप्त गरे भने नेकपा (एमाले)का बलबिर प्रसाद चौधरीले ७ हजार २१३ मत पाए। प्रगतिशील लोकतान्त्रिक पार्टीका शिवचन्द्र प्रसाद कुशवाहाले १ हजार ३६९ र नेपाल कम्युनिष्ट पार्टीका रमेश प्रसाद यादवले ६७ मत प्राप्त गरेका छन।

बारा क्षेत्र नम्बर ३ मा रास्वपाका अरबिन्द साह ४० हजार ६९७ मत प्राप्त गर्दै विजयी भएका छन। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका फरमुल्लाह मंसुरले १० हजार ५२ मत प्राप्त गरे। जनता समाजवादी पार्टी (जसपा)का रामबाबु कुमार यादवले ६ हजार ८८४ मत प्राप्त गर्दा नेकपा एमालेकी ज्वाला कुमारी साहले ५ हजार २७१ मत प्राप्त गरेकी छन।

त्यसैगरी बारा क्षेत्र नम्बर ४ मा रास्वपाका रहबर अन्सारी ४१ हजार २०० मतका साथ विजयी भएका छन। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कृष्णकुमार श्रेष्ठ ‘किसान’ले ११ हजार ६३९ मत प्राप्त गरे। अन्सारीले श्रेष्ठलाई २९ हजार ५६१ मतको भारी अन्तरले पराजित गरेका हुन। यसै क्षेत्रमा नेपाल जनता समाजवादी पार्टीका सन्जु साह कानुले ७ हजार ५९३ मत प्राप्त गरे भने नेपाली कांग्रेसका श्यामबाबु गुप्ताले ७ हजार ११३ मत प्राप्त गरेका छन।

यसरी प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा बारा जिल्लाका चारवटै क्षेत्रमा रास्वपाका उम्मेदवारहरू विजयी हुँदै जिल्लाभर क्लिन स्वीप गर्न सफल भएका छन।

२०७९ सालको निर्वाचनमा बाराको क्षेत्र नम्बर १ बाट नेकपा एमालेका अच्युतप्रसाद मैनाली, क्षेत्र नम्बर २ बाट जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, क्षेत्र नम्बर ३ बाट नेकपा एमालेकी ज्वालाकुमारी साह र बारा क्षेत्र नम्बर ४ बाट तत्कालीन एकीकृत समाजवादीबाट पुनः नेकपा एमालेमा समाहित भएका कृष्णकुमार श्रेष्ठ किसान विजयी भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय