प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत बारा निर्वाचन क्षेत्र नम्बर १ मा उत्साहजनक रूपमा मतदान भएको छ। प्राप्त विवरण अनुसार यस क्षेत्रमा रहेका १ लाख २३ हजार ९८५ मतदातामध्ये ८१ हजार ९४६ मत खसेको छ, जुन कुल मतदाताको करिब ६६.०९ प्रतिशत हो।
खसेको मतमध्ये पुरुष ४२ हजार १०२, महिला ३९ हजार ८४३ र अन्य १ जना रहेका छन। बिहानैदेखि अधिकांश मतदान केन्द्रमा मतदाताको लामो लाइन देखिएको थियो। युवादेखि वृद्धसम्मका मतदाताले उत्साहपूर्वक मतदान गरेका कारण मतदान दर उल्लेखनीय देखिएको हो।



निर्वाचन आयोगका अनुसार बारा क्षेत्र नम्बर १ मा कुल १ लाख २३ हजार ९८५ मतदाता रहेका छन। तीमध्ये महिला ५७ हजार ५५८, पुरुष ६६ हजार ४२३ र अन्य ४ जना मतदाता छन। यस क्षेत्रमा निर्वाचन सम्पन्न गराउन ८६ मतदान स्थल र १६१ मतदान केन्द्र तोकिएका थिए भने प्रतिनिधिसभा सदस्य पदका लागि २० जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन।
भौगोलिक रूपमा बारा क्षेत्र नम्बर १ मा ५ वटा पालिका र ४८ वटा वडा समेटिएका छन। यस निर्वाचन क्षेत्रमा काल्हवी नगरपालिकाका वडा नम्बर १, २, ३, ४, ५, ६, ७, ९, १० र ११, निजगढ नगरपालिकाका वडा नम्बर १, २, ३, ४, ५, ६, ७, ८, ९, १०, ११, १२ र १३, बारागढी गाउँपालिकाका वडा नम्बर १, २, ३, ४, ५ र ६, आदर्श कोतवाल गाउँपालिकाका वडा नम्बर १, २, ३, ४, ५, ६, ७ र ८ तथा सिम्रौनगढ नगरपालिकाका वडा नम्बर १, २, ३, ४, ५, ६, ७, ८, ९, १० र ११ समेटिएका छन।
मतदान शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गराउन नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनालाई परिचालन गरिएको थियो। बाराको मतदान केन्द्रमा कुनै अप्रिय घटना बिना शान्तिपूर्ण वातावरणमा मतदान सम्पन्न भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। निर्वाचन आयोगले केही समयमै मतको गणना गर्ने तयारी गरेको छ।






