आसन्न प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बारामा आन्तरिक असन्तुष्टि सतहमा देखिन थालेको छ। बारा जिल्ला संगठन विभाग प्रमुख पवन चौधरीले पार्टी परित्याग गरेका छन।
२०७९ को प्रतिनिधिसभा निर्वाचनमा बारा क्षेत्र नम्बर–४ बाट उम्मेदवार बनेका चौधरी यसपटक पनि टिकटको आकांक्षी थिए। तर उम्मेदवार छनोट प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै उनले पार्टी छाडेका हुन।



जिल्ला सभापति चन्दन स्वर्णकारले चौधरीको बहिर्गमनको मुख्य कारण उम्मेदवार चयन प्रक्रिया रहेको बताए। स्वर्णकारले भने,‘उनले २५ हजार रुपैयाँ शुल्क तिरेर आन्तरिक निर्वाचनमा सहभागिता जनाएका थिए तर अन्तिममा विधिविपरीत ढंगले उम्मेदवार चयन भएको महसुस भयो भन्दै पार्टी परित्याग गरे।’
अघिल्लो निर्वाचनमा मधेश प्रदेशका २५ उम्मेदवारमध्ये चौधरीले सबैभन्दा बढी मत ल्याएका थिए। चौधरी समुदायको उल्लेख्य बसोबास रहेको बारा क्षेत्र नम्बर ४ मा उनको बहिर्गमनले चुनावी समीकरणमा प्रभाव पार्न सक्ने आकलन गरिएको छ।
जिल्ला कमिटीका सहसचिवसमेत रहेका चौधरी अहिले राष्ट्रिय एकता दलमा प्रवेश गरेका छन।
यसैबीच, अन्य दलबाट आएका व्यक्तिलाई तीन क्षेत्रमा टिकट दिइएपछि बारामा रास्वपाका संस्थापक तहका नेताहरू असन्तुष्ट देखिएका छन। पार्टी गठनको पहिलो दिनदेखि सक्रिय केही पदाधिकारीले धमाधम पार्टी छाडिरहेका छन।
यसअघि बारा क्षेत्र नम्बर ३ का उपसभापति रोशन अधिकारी, बारा क्षेत्र नम्बर ४ का उपसभापति दिलीप पण्डित, परवानीपुर गाउँपालिका सभापति मनोज साह, देवताल गाउँपालिका सभापति कमरुद्दिन अन्सारी र महागढिमाई नगरपालिकाका सचिव प्रदीप गुप्ताले पार्टी त्यागिसकेको सभापति स्वर्णकारले जानकारी दिए।
रास्वपाले बाराका चारमध्ये तीन निर्वाचन क्षेत्रमा नयाँ अनुहारलाई उम्मेदवार बनाएको छ। जनता समाजवादी पार्टीबाट आएका चन्दन सिंह बारा क्षेत्र नम्बर २ मा उम्मेदवार छन। बारा क्षेत्र नम्बर ३ मा उज्यालो नेपालसँग आबद्ध अरविन्द सिंह र बारा क्षेत्र नम्बर ४ मा पूर्व माओवादी केन्द्र पृष्ठभूमिका रहबर अन्सारीलाई उम्मेदवार बनाइएको छ।
बारा क्षेत्र नम्बर १ मा भने प्रदेश सह–महामन्त्री गणेश धिमाललाई पुनः उम्मेदवार बनाइएको छ। उनी अघिल्लो निर्वाचनमा पनि प्रतिस्पर्धामा थिए।







