पक्की भवन छन्, सरकारी लगानी पनि अपुग छैन। निजगढका सामुदायिक विद्यालयहरूमा सुविधाको कमी देखिँदैन। तर, जब नतिजा आयो शून्यताभित्रको कटु यथार्थ झल्कियो।

२०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा निजगढ नगरपालिकाका १० वटा सामुदायिक तथा निजी विद्यालयबाट सहभागी ५२६ जना विद्यार्थीमध्ये केवल १८१ जनाले मात्र पास गरे। बाँकी ३४५ जना, अर्थात दुईतिहाइभन्दा धेरै ‘एनजी’ (नन ग्रेडेड) मा परेका छन्।

यो केवल एक संख्या होइन। यो तथ्य हो जहाँ पाठशालामा भविष्य खोज्न आएका विद्यार्थीहरू एकपछि अर्को असफलताको गर्तमा धकेलिँदैछन्। निजगढका विद्यालयमा काँचो इँटा होइन, पक्की भित्ताले नतिजा तय गरिरहेको छैन। त्यहाँ चेतना, सोच, मेहनत र नेतृत्वको खाँचो छ।

सुविधासम्पन्न पूर्वाधार, पर्याप्त स्रोत र अनुभवी शिक्षक भए पनि बाराको निजगढ नगरपालिकामा माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा चिन्ताजनक देखिएको छ। नगरभित्रका १० वटा सामुदायिक तथा निजी विद्यालयबाट परीक्षामा सहभागी भएका ५२६ जना विद्यार्थीमध्ये जम्मा १८१ जना मात्र उत्तीर्ण भएका छन्। समग्र सफलता दर ३४.४१ प्रतिशतमा झरेपछि शिक्षा क्षेत्र नै तहसनहस भएको तस्बिर देखिएको छ।

अब शिक्षामा भाषण होइन, व्यवहारले बोल्नुपर्ने बेला हो। अभिभावकको सपना, विद्यार्थीको श्रम र विद्यालयको दायित्व एउटै दिशामा उन्मुख भएन भने, पक्की भवनले पनि कमजोर भविष्य बनाइरहनेछ। शिक्षा सुधारको यात्रा सुविधाबाट होइन, सोचको पुनर्संरचनाबाट सुरु हुन्छ, निजगढको नतिजाले यही पाठ पढाएको छ।

विद्यालयअनुसारको नतिजा यस्तो छ:

विद्यालय परीक्षार्थी उत्तीर्ण सफलता दर (%)
श्री गौरीशंकर मावि-८ १५९ ६७ ४२.१४
श्री सार्वजनिक मावि-बागदेव ६३ २५ ३९.६८
श्री होली एञ्जल्स मावि २८ २० ७१.४३
श्री ने.रा.मा.वि, रतनपुरी ६७ ५.९७
श्री गौरीशंकर मावि, सडकटोल ६३ १५ २३.८१
श्री विद्यासागर मावि ३९ २१ ५३.८५
श्री नेत्रोदय मावि ४२.८६
श्री ने.रा.मा.वि, सिंगौल ३७ १८.९२
श्री ने.रा.मा.वि, लाल २० १५.००
श्री बकैया ठाकुर मावि, निजगढ ४३ १६ ३७.२१

निजगढ नगरपालिकामा सञ्चालित सामुदायिक तथा निजी विद्यालयहरूका एसईई नतिजा निकै फरक-फरक देखिएका छन्। सबैभन्दा धेरै परीक्षार्थी सहभागी भएको श्री गौरीशंकर मावि, निजगढ-८ बाट १५९ विद्यार्थीमध्ये ६७ जना मात्र पास गरी ४२.१४ प्रतिशत सफलता दर हासिल भएको छ। श्री सार्वजनिक मावि, बागदेवमा ६३ जनामध्ये २५ जना उत्तीर्ण भई सफलता दर ३९.६८ प्रतिशत पुगेको छ। तुलनात्मक रूपमा सबैभन्दा राम्रो नतिजा श्री होली एञ्जल्स मावि, निजगढले ल्याएको छ, जहाँ २८ विद्यार्थीमध्ये २० जना पास भई ७१.४३ प्रतिशत सफलता हासिल भएको छ।

त्यहीबेला, सबैभन्दा कमजोर प्रदर्शन भने श्री नेपाल राष्ट्रिय मावि, रतनपुरीको देखिएको छ, जहाँ ६७ जनामध्ये केवल ४ जनाले मात्र परीक्षा पास गरी सफलता दर ५.९७ प्रतिशतमा सीमित भएको छ। श्री गौरीशंकर मावि, सडकटोल बाट ६३ जनामध्ये १५ जनाले मात्र परीक्षा पास गरी सफलता दर २३.८१ प्रतिशतमा सीमित भएको छ।

यस्तै श्री विद्यासागर मावि निजगढमा ३९ मध्ये २१ जना र श्री नेत्रोदय माविमा ७ मध्ये ३ जना उत्तीर्ण भएका छन्, जसअनुसार क्रमशः ५३.८५ र ४२.८६ प्रतिशत सफलता दर देखिन्छ। श्री नेपाल राष्ट्रिय मावि सिंगौलमा ३७ मध्ये ७ जना, श्री नेपाल राष्ट्रिय मावि लालमा २० मध्ये ३ जना र श्री बकैया ठाकुर मावि निजगढमा ४३ मध्ये १६ जना मात्र पास भएका छन्। यी विद्यालयहरूको सफलता दर क्रमशः १८.९२, १५.०० र ३७.२१ प्रतिशत रहेको छ।

यी तथ्याङ्कहरूबाट निजगढ नगरपालिकामा शिक्षा प्रणालीको वर्तमान अवस्थाबारे गम्भीर समीक्षा आवश्यक रहेको स्पष्ट देखिन्छ।

‘एनजी दर उच्च हुनु आफैमा खतरा’
माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा निजगढ नगरपालिकाका अधिकांश सामुदायिक विद्यालयका विद्यार्थी ‘एनजी’ (नन ग्रेडेड) मा परेको देखिएपछि शिक्षा क्षेत्र चिन्ताको घेरामा परेको छ। निजगढ नगरपालिकाका शिक्षा अधिकृत उत्तम लामिछानेले प्राप्त नतिजा ‘निराशाजनक’ भएको भन्दै यसलाई गम्भीर आत्मसमीक्षा आवश्यक भएको सन्देशका रूपमा लिनुपर्ने बताएका छन्।

‘विद्यालयमा पढ्ने धेरैजसो विद्यार्थी एनजीमा परेका छन्, जुन स्वयंमा गम्भीर सन्देश हो,’ लामिछानेले पहिलो दृष्टिसँग भने ।

उनका अनुसार पछिल्ला वर्षहरूमा दोहोरिइरहेको यो अवस्था सामान्य मान्न मिल्दैन। ‘नतिजा केवल परीक्षा पास–फेलको सूचक होइन, यसले हाम्रो सिकाइको अवस्था, शिक्षण शैली र प्रणालीमा रहेको त्रुटिलाई उजागर गर्छ,’ उनले थपे।

शिक्षा अधिकृत लामिछानेका अनुसार अब विद्यालय प्रशासन, शिक्षक, अभिभावक र स्थानीय सरकारबीच समन्वय कायम गर्दै शिक्षाको गुणस्तरमा गम्भीर ध्यान दिन आवश्यक छ। उनले नियमित अनुगमन, शिक्षक प्रशिक्षण, विद्यार्थीको सघन तयारी, र पठनपाठनमा सुधार ल्याउने योजनालाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिएका छन्।

‘गत वर्षको अनुभवलाई आधार मानेर योजनाबद्ध सुधारका कार्यक्रम ल्याइने तयारी भइरहेको छ,’ उनले पहिलो दृष्टिसँग भने, ‘हामी घोषणा मात्रै होइन, कार्यान्वयनमा देखिने सुधारतर्फ अग्रसर हुनेछौं।’

निजगढ नगरपालिकाले आगामी शैक्षिक सत्रदेखि शैक्षिक सुधारका कार्ययोजना कार्यान्वयन गर्ने तयारी गरिरहेको जानकारीसमेत उनले गराएका छन्।

अब के गर्ने?
शिक्षाविद्हरू भन्छन्- यो केवल व्यक्तिगत कमजोरी नभई प्रणालीगत कमजोरीको संकेत हो, कक्षा १० को पछिल्लो नतिजाले विद्यालयको कार्यसम्पादनमाथि मात्रै होइन, शिक्षण सिकाइको गुणस्तर, नीति निर्माणदेखि कार्यान्वयनसम्मको श्रृंखलामै गम्भीर प्रश्न उठाएको छ।

नतिजा विश्लेषण गर्दा देखिन्छ- कक्षा ८ मा ग्रेस नम्बरको आधारमा अगाडि बढाइएका विद्यार्थीहरूको आधारभूत तयारी नै कमजोर थियो। यस्तो अवस्थामा उनीहरूलाई सहजीकरण गर्ने शिक्षकहरूको भूमिकामाथि पनि प्रश्न उठ्छ। यतिमात्र होइन, स्थानीय तहले अनुगमन र मूल्याङ्कन गर्ने कार्यमा कति प्रभावकारी छन् भन्ने विषय पनि बहसको घेरामा आएको छ।

अब विद्यालय प्रशासन, शिक्षक र स्थानीय तह, तीनैले आत्मसमीक्षा गर्नुपर्ने बेला आएको छ। शिक्षण सिकाइलाई शास्त्रीय अनुशासनमा फर्काउने, विद्यार्थीलाई लक्ष्यप्रति केन्द्रित गराउने, अभिभावकसँग नियमित संवाद राख्ने र शिक्षकको उत्तरदायित्व सुनिश्चित गर्ने कामबिना सुधार सम्भव छैन।

शिक्षा क्षेत्र सुधारका लागि केही नगरपालिकाहरूले कार्ययोजना तयार पारिरहेको जनाइएको छ। तर शिक्षाविद्हरू स्पष्ट छन्— केवल कागजी योजना र पत्रकार सम्मेलनमा गरिने घोषणाले होइन, व्यवहारमा देखिने सुधारले मात्र परिणाममा सकारात्मक परिवर्तन ल्याउन सकिन्छ।

अब शिक्षालाई प्राथमिकतामा राखेर परिणाममुखी रणनीति बनाउने हो भनेमात्र नतिजा सुधार्ने बाटो खुल्छ। नत्र, शिक्षाका नाममा गरिने हल्ला फेरि पनि रेटिङको अंकमा सीमित हुनेछ।

सुविधाको कमी होइन, सोचको अभाव
विद्यालयमा पुस्तक छन्, शिक्षक छन्, भौतिक संरचना पनि अभावमा छैन तर पनि नतिजा कमजोर आउँछ, किन? कारण सुविधाको होइन-सोच, दृष्टिकोण र जिम्मेवारीबोधको अभाव हो।

विद्यार्थीहरूमा पढाइप्रतिको लगाव, मेहनत र भविष्यप्रतिको स्पष्ट चेतना कमजोर देखिन्छ। तर यो केवल उनीहरूको दोष होइन। यो विद्यालय व्यवस्थापनको संवेदनशीलता, शिक्षकहरूको पेशागत प्रतिबद्धता र स्थानीय सरकारको प्राथमिकतासँग पनि गाँसिएको विषय हो।

गाउँका श्रमिक अभिभावकहरू आफ्ना छोराछोरीलाई स्कुल पठाउँदा ठूलो आशा बोकेका हुन्छन्, “स्कुलले भविष्य बनाउँछ।” उनीहरूले आफ्नो जीवनको सपना सन्तानको शिक्षामा सार्थक हुने विश्वास राखेका हुन्छन्। तर जब एउटै विद्यालयबाट आधाभन्दा बढी विद्यार्थी अनुत्तीर्ण हुन्छन्, तब प्रश्न उठ्छ- विद्यालयले भविष्य बनाउने जिम्मेवारी कसले लिने?

सिर्जना गर्ने सोच, जिम्मेवारीपूर्वक पढाउने दृष्टिकोण र परिणाममूलक शिक्षण प्रणालीबिना ‘सुविधा छ’ भन्ने कुराले मात्र केही अर्थ राख्दैन। सुधारको सुरुआत सोचबाट हुन्छ, नतिजामा देखिने परिवर्तन त्यसको परिणाम हो ।

अब विद्यालयभित्रको वातावरणलाई केवल उपस्थितिमा होइन, उपलब्धिमा जोड्नुपर्ने बेला आएको छ। शिक्षा केवल प्रणालीको कुरा होइन, चेतना र जिम्मेवारीको सवाल पनि हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय