मधुमेह रोगलाई चिनी तथा सुगर रोग पनि भनिन्छ। रगतमा ग्लुकोजको मात्रा बढ्न गई उत्पन्न भएको असहज अवस्थालाई नै मधुमेह भनिन्छ। हाम्रो शरीरमा रहेको प्याङ्क्रियाजको बिटा कोषले नियमितरुपले इन्सुलिन हर्मोन उत्पादन गर्दछ। यही हर्मोनले रगतमा भएको ग्लुकोजलाई कोषभित्र प्रवेश गराई शक्ति उत्पादन गर्ने काम गर्दछ। कुनै कारणवश जब शरीरमा इन्सुलिनको मात्रा कम हुन्छ तब रगतमा ग्लुकोजको मात्रा बढ्न गई चिनी रोग देखापर्छ ।

हरेक नेपालीको घरमा कोहि न कोहि मधुमेहका रोगी हुनसक्छन् । मधुमेहलाई नेपाली समाजमा ‘खानदानी रोग’ भनिन्छ । खानदानी यस अर्थमा कि सुख-सयाल वा ऐश आरमपूर्ण जीवन विताउनेहरु यस रोगको सिकार हुनेगर्छन् । मिठो मसिनो खाने, आरमपूर्वक बस्ने, निस्त्रिय रहनेहरुलाई मधुमेहको जोखिम हुन्छ । त्यसैले मूलत मधुमेह जीवनशैलीसँग सम्बन्धित समस्या हो ।

बद्लिदो जीवनशैली, तनाव र गलत खानपानको कारण मधुमेहको रोगी बढ्दो छ । हुन त मधुमेहबाट छुटकारा पाउनका लागि एलोपेथिक औषधी एवं उपचार विधी छ । त्यस्ता उपचार र औषधीले मधुमेह नियन्त्रण त हुन्छ, निर्मूल भने नहुने सिनियर फेमली फिजिसियन डा. सतिश निरौलाले बताए ।

जनचेतना फैलाउने हेतुले हरेक वर्ष नोभेम्बर १४ दिन विश्व डाइबिटिज दिवस मनाइन्छ । आज १४ नोभेम्बरका दिन मधुमेह/डाइबिटिज दिवसको अवसरमा सिनियर फेमली फिजिसियन डा. सतिश निरौलासँग गरिएको कुराकानी अबको क्रममा ।

मधुमेह कति प्रकारका हुन्छन ?

मधुमेह रोग मुख्यतया चार प्रकारका हुन्छन् इन्सुलिन आश्रित मधुमेह, इन्सुलिन अनाश्रित मधुमेह, गर्भावस्था मधुमेह र अन्य अव्वस्थाको मधुमेह ।
१) पहिलो प्रकार : मधुमेह मेलिटस
– शरीरमा इन्सुलिनको उत्पादन नै नभएर हुने मधुमेह हो।‌ यो बच्चाको अवस्थाबाट शुरु हुन्छ।‌ उपचारको लागि कृतिम इन्सुलिनको इन्जेक्सन लगाउनु पर्ने हुन्छ।

२) दोश्रो प्रकार : मधुमेह मेलिटस
– शरीरमा इन्सुलिनको उत्पादन हुने तर जेनेटिक र मोटोपनाको कारणले काम गर्न नसक्ने अवस्था Type 2 डाइबिटिज हो। यो समान्यतया ३५ वर्ष नाघेका मानिसहरुमा देखिन्छ र कालान्तरमा इन्सुलिनको आवश्यकता कसै कसैलाई परेमा पनि शुरुमा खानपिन, व्यायाम र औषधिले यसलाई नियन्त्रण गर्न सकिन्छ।

३) तेश्रो प्रकार : गर्भावस्था मधुमेह
– यो गर्भवती महिलाहरूमा सालबाट निस्केको हर्मोनका कारण इन्सुलिनको काममा कमी भई सुगर बढ्ने अवस्था हो।

४) अन्य प्रकार
– १ देखि २ प्रतिशत मात्र सुगरका बिरामीहरु अन्य प्रकारका मधुमेह रोगी हुन्छन्।

मधुमेह के कारणले हुन्छ ?

प्रकार दुई मधुमेह मुख्य त दुई प्रकारले हुन्छ । एउटा बंशजको आधार अर्थात परिबारको एक सदस्यलाई भयो भने त्यो जिनको आधारमा सन्तानहरुमा देखिने । यस्तो सम्भावना ५० प्रतिशत रहन्छ । अर्को भनेको जीवन शैली नै हो । त्यो भनेको मोटोपन नियन्त्रण हुन नसक्ने, व्यायममा कमी, खानपानमा गडबढी नै हो । चिल्लो गुलियो र क्यालोरी भएको खानेकुरा नै दुम्मन हुन ।

बंषाणुगत समस्या भएपनि जीवन शैली सुधार्नु भयो भने नरहने सम्भावना पनि हुन्छ । तर मेरो बंशजमा छैन भनेर जीवन शैली सुधारेन भने हुने सम्भावना बढि हुन्छ । नियमित व्यायामको कमी, अस्वस्थ खानपान, आलस्यता, उच्च रक्तचाप, उच्च कोलेस्टेरोल, मोटोपन, गर्भावस्था, वंशानुगत मधुमेहका कारण हुन ।

मधुमेहका लक्षण के के हुन् ? कसरी थाह पाउने ?

मधुमेह रोग पहिल्यै लक्षण देखिएर लाग्न पनि सक्छ, लक्षण विना नै लाग्न पनि सक्छ । विभिन्न अनुसन्धानले के देखाएको छ भने मधुमेह भएकाहरुमध्ये झण्डै ५० प्रतिशतले आफूलाई मधुमेह भएको छ भनेरै थाह पाउन सक्दैनन् । किनभने लक्षण नै हुँदैन् कतिपयलाई ।

खान बढी मन लाग्ने, तिर्खा र पिसाब लाग्नु, शरीरको तौल घट्नु, आलस्यता महसुस हुनु, दृष्टि धमिलो हुनु, अनियन्त्रित भएमा शरीरका अंगमा देखिने असरहरू मधुमेहका लक्षण हुन ।

मधुहेको लेभल कति हुनुपर्छ ?

– बिहान खाली पेटमा जाँच गर्दा ब्लडमा सुगरको मात्रा ७० देखि १ सय १० मिलिग्राम छ भने यसलाई सामान्य ब्लड सुगर लेभल भनिन्छ ।

– खाना खाएको २ घण्टापछि जाँच गर्दा ब्लड सुगर लेभल १ सय १० देखि १ सय ४० सामान्य हो । यो स्तर १ सय ४० देखि १ सय ७० मा पुग्छ भने अत्तालिनु पर्ने केहि छैन । किनभने यत्तिका ब्लड सुगर लेभल नियन्त्रण गर्न सकिन्छ । जब सुगर लेभल २ सयदेखि ३ सयभन्दा बढी हुन्छ भने, उपचार खाँचो हुन्छ ।

– ब्लड सुगर लेभल ४ सय मिलिग्रामभन्दा बढी भयो भने यो गंभिर समस्या हो ।

– यदि समयमै मधुमेहलाई नियन्त्रण गरिएन भने यसले अन्य रोगलाई जन्म दिन्छ ।

मधुमेह रोगका बिरामीले गर्ने नियमित जाँचहरु के के हुन ?

– रगतमा सुगरको मात्रा
– HbA1c
– लिपिड प्रोफाइल ( रगतमा चिल्लो पदार्थ/बोसोको जाँच)
– ECG ( मुटुको धड्कनको जाँच)
– RFT ( मृगौलाको परीक्षण)
– आँखाको परीक्षण
– रक्तचाप परीक्षण

मधुमेह रोगका असरहरू कस्ता हुन्छन ?

लामो समय मधुमेहको उपचार नगराई शरीरमा अनियन्त्रित सुगर भएमा निम्न असरहरू देखिन सक्छन्।

– आँखा: आखाँको पर्दाको रोग, जलबिन्दु र मोतिबिन्दु
– मृगौला: मृगौलाको रोग( Diabetic nephropathy), मृगौलाको काममा‌ कमी
– मुटु: मुटुको काममा कमी, हृदयघात
– मस्तिष्क: मस्तिष्कघात ( Stroke)
– रगतका नलीहरुमा हुने रोग
– नशाहरुको रोग
– खुट्टामा घाऊ
– यौन समस्या

मधुमेहको नियन्त्रणका उपाय के के छन ?

अस्वस्थ्यकर जीवनशैली र खानपानले मधुमेह रोग लाग्ने संभावना बढाउँछ । अहिले आएर त साना बच्चाहरु समेत यसको सिकार भएको पाइएको छ । अहिले मधुमेह रोगी दिनहँ बढ्दो छन् । अस्तव्यस्त जीवनशैली, खराब खानेकुरा र व्यायामको कमीले मधुमेह जस्ता रोग निम्याउने गर्छ । जब मधुमेहले समात्छ, तब त्यसबाट छुटकारा पाउन गाह्रो हुन्छ । मधुमेह पूर्ण रूपमा निर्मूल हुने पनि होइन, बरु यसलाई नियन्त्रित भने गर्न सकिन्छ ।

मधुमेह वा ब्लड सुगर लेभललाई कसरी नियन्त्रण गर्ने त ?

– नियमित व्यायाम कम्तीमा हप्ताको १५० मिनेट मुटुको धड्कन बढ्ने गरी कसरत वा हिड्डुल गर्ने,
– खानपानको व्यवस्थापन (साग, सब्जी, सलाद र कम गुलियो हुने खालका फलफूल प्रशस्त खाने),
– औषधि उपचार (मेटफर्मिन, इन्सुलिन, सल्फोनाइल, युरिया, DPP-4, Inhibitors, GLP -1 Antagonist, SGLT2 Inhibitors, इत्यादि),
– नियमित स्वास्थ्य जाँच तथा स्याहार,
– निन्द्रा पुरा पुर्याउने,
– नियमित आँखाको जाँच, रक्तचाप, रगत र पिसाबको जाँच गराउने।

(सिनियर फेमली फिजिसियन डा. सतिश निरौला निजगढ सामुदायिक अस्पतालमा कार्यरत छन् ।)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय