बारामा पनि नेपालमा नौलो फलको रुपमा लिइएको ड्रागन फुडको व्यवसायिक खेती सुरु भएको छ । बाराको निजगढमा नेकपा एमालेका नेता एकबहादुर श्रेष्ठले तीनबर्षदेखि यसको व्यवसायिक उत्पादन थालेका हुन ।
बाराको निजगढ नगरपालिका ७ भमराटोलमा एमालेको मधेस प्रदेश कमिटी सदस्य एक बहादुर श्रेष्ठले विगत तीन वर्ष अघि सुरु गरेको नौलो तथा मिठो फल ड्रागन फुड खेतीमा सफलता प्राप्त गर्दै गएका छन् । आफूले थालेको सो खेतीबाट राम्रो आम्दानी पनि हुन थालेपछि उनी खुसी देखिएका छन् । श्रेष्ठले करिब २२ लाखको लागतमा चार सय बोट ड्रागन फुड १५ कठ्ठामा लगाएर थालेको खेतीले उनलाई सफल बनाएको हो ।
अहिले श्रेष्ठको १५ कठ्ठा आफ्नै बारीमा ४ सय बोट ड्रागन फुडका बोटहरू रहेका छन् । करिब २ सय ५० वटा बोटहरू फूल फुल्ने र फल फल्ने क्रममा रहेका छन् । श्रेष्ठले ड्रागन फुडका साथमा अहिले खोर्सानी, भिण्डी र काक्रोसमेत लगाएका छन् । ड्रागन फुडभित्र वोट हुने तरकारीको खेती समेत गरेर दोहोरो फाइदा लिन श्रेष्ठ सफल भएका छन ।
श्रेष्ठका अनुसार प्रति कठ्ठामा लगाएको ड्रागन फुडवाट वार्षिक कम्तीमा १ लाख ५० हजार सम्म आम्दानी हुने गरेको छ । ड्रागन फुडको बजारमा माग थेरै रहेको हुदाँ माग अनुसार उत्पादन हुन नसकेकोमा श्रेष्ठ चिन्तित छन ।श्रेष्ठको बारीबाटै प्रति केजी ५ सय देखि ६ सम्ममा बिक्री हुने गरेको छ । श्रेष्ठको बारीको आकर्षक ड्रागन फुड हेर्न धेरै मानिसहरू फार्म पुग्ने गरेका छन् ।
श्रेष्ठको बारीमा पहिलो र दोस्रो छिमालको फल फलेर बिक्री भैसकेको छ । तेस्रो छिमालका फलहरू अहिले फल्दैछन् भने चौथो छिमालको फल उत्पादनको लागि पनि कोपिला बसिसकेको छ । गर्मी समयको बैशाखदेखि मंसिरसम्म मुख्य रूपमा फल दिने ड्रागन फुड बर्षमा आठ महिनासम्म फल्ने गर्दछ ।