आज असार १५ अर्थात् राष्ट्रिय धान दिवस । मानो रोपेर मुरी उब्जाउने भएकाले किसानका लागि यो दिन पर्वजत्तिकै महत्वपूर्ण छ ।

समयमै पानी परेका कतिपय ठाउँमा रोपाइँको चटारो चले पनि सिँचाइको अभावमा कयौं खेत बाँझै छन् ।

मानो रोपेर मुरी उब्जाइने दिनका रुपमा असार १५ लार्ई लिने गरिन्छ । यो दिन रोपाइँ गर्दा र दही चिउरा खाँदा गति परिन्छ भन्ने विश्वासमा खेतीपाती नगर्नेहरु पनि खेतमा गएर धान रोप्ने तथा हिलो छ्यापाछ्याप गरी खेल्ने चलन छ । देशका कतिपय ठाउँमा समयमै पानी परेकाले किसानहरु रोपाईंमा व्यस्त पनि देखिएका छन् ।

रोपाइँसँगै दुःख, पीर तथा जीवनका अनुभूतिलाई असारे गीतका माध्यमबाट अभिव्यक्ति गर्ने गरिन्छ ।

वर्ष दिनसम्म खाने बाली रोप्ने समय भएकाले पनि अरु काम छाडेर किसानहरु खेतमा तल्लीन हुन्छन् । कतिपय ठाउँमा पानी परे पनि पश्चिम तराईका जिल्लाहरुमा पर्याप्त पानी नपर्दा रोपाइँको काम सुरु हुन सकेको छैन । केहीले कुलो र बोरिङ्मार्फत् रोपाइँ गरे पनि दाङ, बाँके, बर्दिया, कपिलवस्तुसहित प्रदेश २ अन्तर्गतका जिल्लाका अधिकांश खेतहरु बाँझै छन् ।

खाद्यान्न उत्पादनको ६० प्रतिशत हिस्सा धानबालीले ओगट्ने भएकाले पनि यो किसानहरुको भविष्यसँग जोडिएको छ । सिँचाइ, प्रविधि, जनशक्ति तथा समयमा मलको उपलब्धता नहुँदा किसानले भोग्नुपरेको समस्या पनि निकै छन् ।

कृषि उत्पादन वृद्धिलाई प्राथमिकतामा राखेको सरकारले किसानका तमाम समस्यालाई सम्बोधन गर्न सकेमात्र धान दिवसको तामझाम शोभायमान हुने थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय